विराटनगर-अन्तर्राष्ट्रिय बजारमा भटमास र सूर्यमुखि कच्चा तेलको मूल्यमा ह्रास आएपछि नेपालमा पनि खाने तेलको मूल्य घट्ने भएको छ । जसको कारण एलसी खोलेर मूल्य घट्न अघि मगाएको कच्चा तेलमा नेपाली उद्योगीले १ अर्ब ८० करोड गुमाएका छन । 

तर तोरीको तेलमा भने मूल्य स्थिर रहने छ । नेपाली बजारमा तेलको मूल्य घट्दा उपभोक्तालाई भने फाइदा हुने छ । तर मूल्य घट्नु अघि नै एलसी खोलेर कच्चा तेल मगाएका उद्योगहरुले घाटा ब्यहोर्ने भएका छन । 

नेपालका उद्योगीहरुले अर्जेन्टिना र ब्राजिलबाट पैठारी गर्ने भटमासको कच्चा तेलको मूल्यमा एक सातामा तीन सय डलर प्रति मेट्रिक टन घटेको हो । साता अघि सम्म १ हजार ४ सय ७५ डलर रहेको भटमासको तेलको मूल्य १ हजार २ सय अमेरिकी डलरमा झरेपछि नेपाली बजारमा समेत त्यसको असर पर्ने छ ।

बजारमा अहिले तोरीको तेलको खुद्रा मूल्य २७० रुपैया प्रति लिटर छ । त्यस्तै सूर्यमुखी तेलको मूल्य प्रति लिटर २५० र भटमासको तेलको खुद्रा मूल्य २३० रहेको छ । अन्तराष्ट्रिय बजारमा तोरीको मूल्यमा कमि नआएकाले तोरीको तेलको मूल्य स्थिर रहने घरेलु तेल उद्योगका संचालक श्रवण अग्रवालले बताए । तेरीको तेलको मूल्य भटमास र सूर्यमुखि तेलको जसरी नघटेकाले अहिले तोरीको तेलको मूल्य स्थिर रहेने उनले बताए । भटमास र सूर्यमुखि तेलको मूल्यमा भने प्रति लिटर २० देखी ३० रुपैयाँ सम्मको कमि आउन सक्ने उद्योगीहरुको अनुमान छ ।  

उद्योग संगठन मोरङका बरिष्ठ उपाध्यक्ष एवं श्रीराम रिफाइनरीका संचालक प्रदीप मुरारकाले गत बर्ष यो बेलामा भटमासको कच्चा तेलको मूल्य ६ सय ६० डलर मात्र रहेको बताए । तर कोरोनाको कारण कच्चा तेलको मूल्य लगातार बृद्धि भएको उनले बताए । 

त्यस्तै सूर्यमुखि तेलको मूल्य प्रतिटन १ हजार ६ सय ५० अमेरिकी डलरबाट १ हजार ३ सय २५ डलरमा झरेको छ । जबकी अघिल्लो बर्ष यहि सिजनमा सूर्यमुखि कच्चा तेलको मूल्य प्रतिटन ७ सय २५ देखी ७ सय ५० अमेरिकी डलर थियो । 

सूर्यमुखीको कच्चा तेल रसिया र युक्रेनबाट आयात गरिन्छ । पहिले कै मूल्यमा झिकाएको कच्चा तेल ३० हजार टनभन्दा बढी कोलकाता पोर्टमा रहेको छ । मुरारकाका अनुसार त्यस्तै ३० हजार टन तेलको एलसी खोलिसकिएको छ । यसरी प्रति टन ३ सय डलर गुमाउँदा पनि नेपाली उद्योगीले ६० हजार टन तेलमा कम्तीमा १ अर्ब ८० करोड एकै लटमा गुमाएका छन । 

अहिले उद्योगीले अन्तर्राष्ट्रिय बजारका आधारमा  साप्ताहिक रुपमै यहाँ तेलको मूल्य बढाइरहेका थिए । त्यही कारण अन्तर्राष्ट्रिय बजारमा घट्दा यहाँ पनि मूल्य स्वत घटाउनु पर्नेछ उद्योग संगठनका कोषाध्यक्ष तथा क्वालिटि रिफाइनरीका संचालक बिपिन कावरा बताउछन । उनका अनुसार विशेषतः अमेरिकी बजारमा वायोफ्युलका रूपमा भटमासको तेल प्रयोग नहुने भएपछि अन्तराष्ट्रिय बजारमा मूल्य घटेको हो ।

घैला छाप तोरीको तेलको उत्पादन गर्दै आएको चन्द्रशिव राइस मिलका संचालक नरेश राठीले भारतमा तोरीको मूल्य केही घटेकाले अहिले नेपाल भन्दा भारतमा नै तोरी तेलको मूल्य घटि भएकाले खुला बोर्डरबाट तेल नेपाल आइरहेको बताए । जस्को कारण नेपालका तेल उद्योगहरुको विक्रीमा ह्रास आएको उनले बताए । कोरोनाको कारण भएको लक डाउन र खुला सीमाबाट तस्करी भएर आउने भारतीय तेलको कारण नेपालका उद्योगहरुको उत्पादन गोदाममा थन्कीरहेको बताए । यहि बेला अन्तराष्ट्रिय रुपमा नै तोरीको मूल्य सूर्यमुखि र भटमासकै जसरी घटिदिने हो भने उद्योग नै बन्द गर्नु पर्ने अवस्था आउने उनले बताए ।