विराटनगर-कोभिड १९ को महामारी र लकडाउनको कारण बजारमा दग्धजन्य पदार्थको खपत घटेपछि दुग्ध विकास संस्थान अन्तरगतको विराटनगर दुग्ध वितरण आयोजनाले किसानहरुलाई संकलित दुधको १० करोडको भुक्तानी गर्न सकेको छैन । आयोजनाको गोदाममा २० करोड २५ लाख बराबरको पाउडर दुध,घ्यू र मख्खन बिक्री नभएर थन्कीएको छ । 


प्रदेश १  र २ का समेतको गरि सात हजार दुध किसानको भुक्तानी चार महिनादेखी दुग्ध वितरण आयोजनाले गर्न सकेको छैन । दुग्ध संकलन केन्द्रहरुबाट दैनिक दुध संकलन गरि आयोजनाले प्रशोधन गरि दुध, घ्यू, दही, पाउडर दुध, पनिर, चिज,मख्खन लगायतका दुग्ध जन्य पदार्थ बनाएर बिक्री गर्दै आएको छ । 


संकलित दुधको रकम फागुन, चैत, बैशाक र जेठ महिनाकोे भुक्तानी किसानलाई दिन बाँकी रहेको हो । निजी कम्पनीहरूभन्दा भरपर्दो ठानेर सरकारी आयोजनालाई दुध बेचेका किसान उसैले भुक्तानी रोक्दा दैनिक गुजारा चलाउनै असहज हुने अवस्थामा पुगेको बताउछन इलामका किसान विष्णुप्रसाद दुराल । उनी सम्बद्ध उज्यालो कृषि सहकारीले दैनिक २ सय लिटर दुध दुग्ध वितरण केन्द्र विराटनगरलाई दिदै आएका छन । उनको सहकारीलाई नै न्यूनतम लिटरको ४५ रुपैयाँको दरले वितरण केन्द्रले भुक्तानी गर्दा पनि १० लाख ८० हजार बक्यौता रहेको छ । 


किसानले दुधको रकम समयमा भुक्तानी नपाउदा गाँइभैंसी खुवाउने चोकर, दाना, भिटामिन लगायत किसानले किन्न सक्दैनन । दुधको आम्दानीबाटै उनीहरुले घरको समेत खर्च चलाउनु पर्ने अवस्था हुन्छ । तर लामो समय भुक्तानी नपाउदा किसानहरुमा ‘रुवावासी’कै अवस्था रहने गरेको किसान दुरालले बताए । 


धनकुटाको छ थर जोरपाटीका किसान डिकबहादुर खड्काका २० माउ गाईछन । उनले दैनिक दैनिक २ सय २० लिटर दुध स्थानिय चिस्यान केन्द्रलाई दिदै आएका छन । चिस्यान केन्द्रले दुग्ध वितरण आयोजना विराटनगरलाई दुध विक्री गर्‍यो । उनले चिस्यान केन्द्रबाट १० लाख रुपैया पाउन बाँकी छ । रकम भुक्तानी नहुदा गाईलाई खुवाउने पोषिलो दाना खुवाउन पाएको छैन । जस्को कारण उनको दुधको दैनिक दुध उत्पादन घटेर ४० लिटरमा झरेको छ । उनी भन्छनÔदुध सडकमा पोख्नु भन्दा एक न एक दिन त भुक्तानी देलानी भन्ने आशमा डिडिसीलाई दुध दिइरहेका छौं ।


अर्का किसान घमण्डबहादुर थापाले समयमा दुधको रकम भुक्तानी नपाउदा गाईलाई खुवाउने दानाको समस्या भएको उनले बताए । उनका अनुसार लक डाउने एक त पशुआहारा नै पहाडमा ढुवानी नभएर पाइएको छैन भने अर्को तिर नगद किनेर ल्याउन पैसा छैन । जस्को कारण दुधको उत्पादन समेत घटिरहेको उनले बताए । उनका ९ माउ गाई छन । उनी पहिले दैनिक एक सय लिटर सम्म दुध विक्री गर्दै आएका थिए । अहिले घटेर दैनिक ७० लिटर मात्र दुध विक्री गरिरहेका छन ।     


दुग्ध वितरण आयोजना विराटनगरले सात हजारभन्दा बढी किसानबाट दैनिक संकलन हुने २५ देखि २६ हजार लिटर दुध र त्यसबाट बनेका परिकार बेचेर किसानलाई भुक्तानी गर्ने हो । लक डाउनको कारण  बिक्री घटेपछि भुक्तानीमा समस्या भएको आयोजनाका विराटनगर प्रमुख गणेश यादवले बताए । उनका अनुसार चार महिनामा करिब १० करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ । यसमा किसानको सबैभन्दा ठूलो संख्या इलामको छ । आयोजनाले दैनिक संकलन गर्ने २६ देखि ३० हजार लिटरमध्ये झण्डै २० हजार लिटर दुध इलामबाट मात्रै आउने गरेको छ ।


यसबाहेक धनकुटा, तेह्रथुम, झापा, मोरङ, सुनसरी जिल्लाका किसानले पनि संस्थान मातहतकै दुग्ध वितरण आयोजनालाई दुध बेच्ने गरेका छन् । निजी क्षेत्रका डेरीले किसानलाई प्रतिलिटर ५० रुपैयाँसम्म मूल्य दिने गरेका छन् । तर, सरकारी संस्थानले प्रतिलिटर ४५ देखि ४६ रुपैयाँसम्म दिने गरेका छन्। कम मूल्यमा नै दुध दिइरहेका किसानको समस्याबारे संस्थानले तत्कालै गम्भीर बन्नुपर्ने किसानको माग छ  छ।


दुधको बिक्री कम हुँदा यस्तो अवस्था आएको बताउनले दुग्ध वितरण आयोजनाका अनुसार दैनिक तीन हजार लिटर दुध मात्रै बिक्री हुने गरेको छ । एक हजार लिटर हाराहारी दही र बाँकी पाउडर बिक्री हुन्छ । तर, दुध र दही बिक्री नभएपछि पाउडर उत्पादन गरि स्टक गरिएको छ । आयोजनासंग अहिले २६० टन पाउडर दुध छ । जसको बजारमूल्य प्रति किलो छ सय रुपैयाँ छ । यस हिसाबले आयोजनासंग १५ करोड ६० लाखको पाउडर दुध मौज्दाद छ । प्रमुख यादवका अनुसार ६० टन मख्खन र ५ टन घ्यू छ । जस्को बजार मूल्य ४ करोड ६५ लाख हो । यादव भन्छन‘यस्तै अवस्था रहिरहने हो भने हामीले मिल्क होलिडे गर्नुको विकल्प हुन्न ।Õ विवाह, ब्रतबन्ध लगायतका अनुष्ठान र पार्टीहरु नहुदा उत्पादन गर्दै गोदाममा थन्क्याउनु परेको यादवले बताए ।