विराटनगर–मध्यपूर्वमा चर्किएको युद्धसँगै स्ट्रेट अफ होर्मुज र रेड सी–सुएज समुद्री मार्ग असुरक्षित बन्दै जाँदा त्यसको प्रत्यक्ष असर नेपालसम्म देखिन थालेको छ । अन्तर्राष्ट्रिय ढुवानी कम्पनीहरूले जहाजलाई अफ्रिकाको केप अफ गुड होप हुँदै लामो वैकल्पिक मार्गमा पठाउन थालेपछि एशियाबाट दक्षिण एशियातर्फ आउने कन्टेनर १० देखि १४ दिनसम्म ढिलो आइपुग्न थालेको उद्योगी–व्यवसायीहरूको भनाइ छ ।


विश्व व्यापार र ढुवानीसम्बन्धी प्रतिवेदनहरूले यो अवस्थालाई कोभिड–१९ पछिको गम्भीर आपूर्ति शृंखला संकटमध्ये एक मानेका छन् । स्थलरुद्ध र आयातमा निर्भर नेपालमा यसको प्रभाव उद्योग, निर्माण र दैनिक उपभोग्य बजारमा एकैसाथ फैलिन थालेको व्यवसायीहरू बताउँछन् ।


नेपालका लागि कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह हुँदै भित्रिने अधिकांश आयातित वस्तुमा प्रभाव सुरु भइसकेको विराटनगरका उद्योगीहरू बताउँछन्। विशेषगरी प्लास्टिक कच्चा पदार्थ, खानेतेल, पेट्रोकेमिकल, फलामजन्य सामग्री, इलेक्ट्रोनिक्स, मेसिनरी पाट्र्स, औषधिजन्य सामग्री, औद्योगिक रसायन र प्याकेजिङ सामग्री को आयात लागत एकाएक बढेको छ ।


समुद्री ढुवानीमा वार रिस्क इन्स्योरेन्स, इन्धन अधिभार, आकस्मिक सुरक्षा शुल्क र आपतकालीन सरचार्ज थपिएपछि कन्टेनर भाडा दोहोरो अंकले उकालो लागेको छ। यसले उत्पादन लागत बढ्नुका साथै बजारमा महँगीको नयाँ दबाब सिर्जना गर्ने संकेत देखिएको छ ।


उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार चीन, मलेसिया र दक्षिण–पूर्वी एशियाबाट आयात हुने प्लास्टिक दाना, प्याकेजिङ कच्चा पदार्थ, खाद्य उद्योगमा प्रयोग हुने रसायन तथा उपभोक्ता सामग्री को लागत १५ देखि २० प्रतिशतसम्म बढ्ने संकेत उद्योगीहरूले पाइसकेका छन् । केही आयातकर्ताले प्रति कन्टेनर १ हजार ५ सयदेखि ४ हजार अमेरिकी डलरसम्म वार रिस्क सरचार्ज थपिएको नयाँ बिल पाइसकेको उनले बताए ।


उनका अनुसार युद्धको अवधि एक महिनाभन्दा बढी लम्बिए पाइप, घरेलु प्लास्टिक, खाद्य प्याकेजिङ, सेनेटरी सामग्री, खानेतेल र निर्माणजन्य वस्तु को मूल्य स्वतः बढ्नेछ ।


मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले जहाज ढिलाइले ढुवानी खर्च मात्र होइन, बैंकिङ लागतसमेत बढाउने बताए । एलसी खोलेर मगाइएका सामान तोकिएको समयभन्दा ढिलो आइपुग्दा बैंक ब्याज, डेमरेज, गोदाम खर्च, कार्यशील पूँजी र पुनः वितरण लागत बढ्ने भएकाले यसको सीधा असर बजार मूल्यमा पर्ने उनले बताए ।


विशेषगरी चाडपर्व लक्षित इलेक्ट्रोनिक्स, कपडा, सेनेटरी, वायरिङ, प्लम्बिङ फिटिङ, फर्निसिङ तथा घर निर्माण सामग्री मा छिट्टै मूल्य समायोजन देखिने उनको भनाइ छ  । विराटनगर र आसपासमा घर निर्माण तथा पूर्वाधार गतिविधि बढिरहेका बेला यो संकटले निर्माण क्षेत्रलाई थप महँगो बनाउने आकलन गरिएको छ ।


सीएनआई कोशी प्रदेश अध्यक्ष पवन सारडाले युद्धको असर समुद्री ढुवानीमा सीमित नरही ऊर्जा लागतमार्फत सम्पूर्ण औद्योगिक संरचनामा ‘चेन इफेक्ट’ का रूपमा देखिने बताए । नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्रमा तेलको मूल्य बढ्दा प्लास्टिकदेखि स्टिल, खाद्यान्नदेखि औषधिसम्म सबै क्षेत्रमा प्रभाव पर्ने उनले बताए ।


डिजेल र पेट्रोल महँगिँदा सडक ढुवानी, गोदाम व्यवस्थापन, उद्योगभित्रको ऊर्जा खर्च, वैकल्पिक जेनेरेटर सञ्चालन र अन्तिम बजार वितरण सबै चरण महँगो हुने भएकाले उपभोक्ताले प्रत्यक्ष मूल्यवृद्धि महसुस गर्ने अवस्था आउने उनले औंल्याए ।


उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयश प्याकुरेलले यो संकटलाई केवल ढुवानी समस्या नभई पूँजी चक्रमा परेको प्रत्यक्ष दबाब का रूपमा हेर्नुपर्ने बताए। कच्चा पदार्थ ढिलो आइपुग्दा उत्पादन तालिका बिग्रिने, तयार वस्तु बजारमा समयमै नपुग्ने, नगद प्रवाह रोकिने र बैंक ब्याज लागत बढ्ने भएकाले उद्योगको वित्तीय स्वास्थ्यमा असर पर्ने उनको विश्लेषण छ ।


मोरङ उद्योग व्यापार संघका सचिव अमित राठीका अनुसार साना तथा मझौला उद्योग अहिले सबैभन्दा बढी जोखिममा छन्। सीमित कार्यशील पूँजीमा सञ्चालन भइरहेका उद्योगका लागि कन्टेनर भाडा, बैंक ब्याज र कच्चा पदार्थ मूल्यवृद्धि गम्भीर चुनौती बनेको उनले बताए ।


विशेषगरी खाद्य प्रशोधन, रेडिमेड गार्मेन्ट, प्लास्टिक घरेलु सामान, औषधि, इलेक्ट्रोनिक्स असेम्ब्ली र निर्माण सहायक सामग्री उत्पादन गर्ने उद्योगमा तत्काल असर देखिन थालेको छ। युद्ध लम्बिँदै गए बजारमा कृत्रिम अभाव, स्पट खरिद, अग्रिम भुक्तानी र मूल्य समायोजनको चाप अझ बढ्ने उनले चेतावनी दिए ।


विराटनगरका थोक व्यापारीहरूका अनुसार एलसी खोलेर मगाइएका सामान ढिलो आइपुग्दा गोदाम व्यवस्थापन खर्च र बैंक ब्याज लागत दोहोरो रूपमा बढिरहेको छ। विशेषगरी घर निर्माण सामग्री, सेनेटरी, वायरिङ, पेन्ट, प्लम्बिङ फिटिङ, इलेक्ट्रोनिक्स, कपडा, खाद्यान्न प्याकेजिङ र उपभोग्य वस्तु मा आगामी केही साताभित्रै नयाँ मूल्यसूची आउन सक्ने अनुमान गरिएको छ ।


अर्थविद्हरूका अनुसार यो संकटको असर महँगी, उपभोक्ता मूल्य सूचकांक, उद्योग उत्पादन लागत र बजार माग मा एकैसाथ देखिनेछ । कोभिड–१९ का बेला जस्तै आपूर्ति शृंखला अवरोधले फेरि एकपटक हरेक वस्तुमा मूल्यवृद्धिको चेन इफेक्ट निम्त्याउने जोखिम देखिएको छ ।


उद्योगी–व्यवसायीहरूको निष्कर्षमा अहिलेको संकट केवल मध्यपूर्वमा सीमित युद्धको असर नभई विश्व व्यापारका दुई संवेदनशील समुद्री चेकपोइन्टमा आएको अवरोधले विराटनगरको उद्योग, निर्माण बजार, उपभोक्ता वस्तु र दैनिक भान्सासम्म प्रत्यक्ष आर्थिक दबाब सिर्जना गरेको अवस्था हो । युद्ध लम्बिँदै गए प्लास्टिक, खानेतेल, पेट्रोलियम, निर्माण सामग्री, इलेक्ट्रोनिक्स, औषधि र औद्योगिक कच्चा पदार्थमा दोहोरो अंकको मूल्यवृद्धि देखिने सम्भावना बलियो बन्दै गएको छ ।