बैठकमा सुझाव राख्न उनले हात उठाइन् । प्रमुखले बीचमै रोकेर भने, “यो तपाईंको क्षेत्र होइन।” कोठा एकैछिन शान्त भयो । त्यसपछि उनले त्यस्ता बैठकमा आफ्नो कुरा राख्न छोडिन् । यो काल्पनिक दृश्य हो, तर धेरैले यस्तै क्षण भोगेका छन् ।

हरेक कार्यस्थलले हामीलाई तालिम, परामर्श वा औपचारिक व्यावसायिक विकासमार्फत मात्र सिकाउँदैन । कतिपय महत्वपूर्ण पाठ त्यस्ता परिस्थितिबाट आउँछन्, जुन हामीले कहिल्यै भोग्न चाहेका हुँदैनौँ । कमजोर सञ्चार, अनावश्यक दबाब, पक्षपात, कामको उचित मूल्याङ्कन नहुनु वा निर्णय प्रक्रियामा आफूलाई बाहिर राखिएको महसुस हुनु जस्ता अनुभवले मानिसको काम गर्ने शैलीसँगै सोच्ने तरिका पनि बदलिदिन्छ ।

तर कठिन कार्यस्थलको अनुभवलाई हामी कसरी लिन्छौँ भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ । त्यही अनुभवले कसैलाई निराश बनाउन सक्छ, कसैलाई मौन बनाउन सक्छ । तर कसैका लागि त्यही अनुभवले आफू भोलि कस्तो नेतृत्व गर्ने र कस्तो व्यवहार नगर्ने भन्ने कुरा सिकाउन सक्छ ।

नेपालका धेरै संस्थामा व्यावसायिक सम्बन्धसँगै व्यक्तिगत सम्बन्धले पनि काम गर्ने वातावरणमा प्रभाव पार्ने गरेको पाइन्छ । सहकर्मी साथी हुन सक्छ, आफन्त हुन सक्छ वा व्यवस्थापनसँग नजिकको व्यक्ति हुन सक्छ । यस्तो अवस्थामा निर्णय सधैँ काम र क्षमताका आधारमा हुन्छ भन्ने अनुभूति सबैलाई नहुन सक्छ । हाम्रो संस्थागत संस्कृतिमा पदसोपान पनि अझै बलियो छ । माथिल्लो तहको निर्णयमाथि प्रश्न उठाउँदा त्यसलाई रचनात्मक असहमतिको रूपमा होइन, अनुशासनहीनताको रूपमा बुझ्ने प्रवृत्ति पनि देखिन्छ । यसले खुला संवादलाई कमजोर बनाउँछ ।

यस्तो अवस्थामा प्रशासनका आधारभूत सिद्धान्त झन् महत्वपूर्ण हुन्छन् । असल प्रशासन व्यक्तिको प्रभाव वा पहुँचमा होइन, स्पष्ट नियम, उचित प्रक्रिया र जवाफदेहितामा टिकेको हुन्छ । निष्पक्षताको अर्थ सबैलाई ठ्याक्कै एउटै व्यवहार गर्नु मात्र होइन । निर्णय गर्दा सम्बन्ध, दबाब वा व्यक्तिगत पूर्वाग्रहभन्दा काम, प्रमाण र प्रक्रियालाई आधार बनाउनु हो । पारदर्शिताको अर्थ संस्थाका सबै कुरा सार्वजनिक गर्नु पनि होइन । निर्णय किन भयो र कुन आधारमा भयो भन्ने कुरा बुझ्न सकिने बनाउनु हो । अधिकार प्रयोग गर्नेले आफ्नो निर्णयको जिम्मेवारी लिनु पनि त्यत्तिकै आवश्यक हुन्छ ।

पदसोपान आवश्यक छ, किनकि यसले को कसप्रति उत्तरदायी छ भन्ने स्पष्ट गर्छ । तर पदसोपानको अर्थ माथिल्लो तहले बोलेपछि प्रश्न गर्नै नहुने भन्ने होइन । स्वस्थ संस्थामा सम्मानसहित असहमति राख्ने ठाउँ हुन्छ । सही तरिकाले राखिएको प्रश्नले निर्णयलाई अझ राम्रो बनाउन सक्छ ।

संस्थाको वास्तविक संस्कृति भित्तामा टाँसिएका नारा वा लिखित नियमले मात्र देखाउँदैन। गल्ती हुँदा कसरी प्रतिक्रिया दिइन्छ, राम्रो कामको श्रेय कसले पाउँछ, कर्मचारीले सुझाव दिँदा कस्तो व्यवहार हुन्छ र कमजोर प्रदर्शन हुँदा सुधारको अवसर दिइन्छ कि दिइँदैन भन्ने कुराले संस्थाको वास्तविक संस्कृति देखाउँछ।

डरमा काम गरिरहेको टोली देखेपछि एउटा कुरा बुझिन्छमा त्यो के हो भने मानिसलाई काम गराउन डरभन्दा विश्वास धेरै प्रभावकारी रहेछ। कसैलाई नजिक र कसैलाई टाढा राखिएको देख्दा निष्पक्ष व्यवहारको महत्व आफैँ बुझिन्छ।

कार्यसंस्कृति एकै दिनमा बदलिँदैन यो एउटा कटु सत्य हो तर नेतृत्वले साना कुराबाट सुरुवात गर्न सक्छन र सबैको कुरा सुन्ने, राम्रो कामको श्रेय सम्बन्धित व्यक्तिलाई दिने, गल्तीमा दोष खोज्नुभन्दा समाधान खोज्ने साथै निर्णयको कारण स्पष्ट बताउने, यिनै व्यवहारले विस्तारै संस्थाको वातावरण बदल्छ र कार्यस्थलको गरिमा बढ्न थाल्दछ ।

अब प्रश्न उठ्छ—कठिन परिस्थितिमा कर्मचारीले के गर्ने?

परिस्थिथि सधै सहज हुन्छ भन्ने हुदैन, फरक परस्थितिमा पनि व्यावसायिकता प्रदर्शन गरि सहज बनाउन सक्नु नै खुबी हो । व्यावसायिकता भनेको सबै कुरा सहेर चुप लागेर बस्नु होइन । आफ्नो जिम्मेवारी र कामको अपेक्षा स्पष्ट गर्ने, महत्वपूर्ण निर्णयको आवश्यक अभिलेख राख्ने, असहमति राख्दा व्यक्तिलाई होइन विषय र प्रक्रियालाई आधार बनाउने तथा उपलब्ध संस्थागत माध्यमबाट समस्या समाधान खोज्ने कुरा पनि व्यावसायिकताको हिस्सा हो । कहिले बोल्ने, कहाँ बोल्ने र कसरी बोल्ने भन्ने बुझ्नु पनि कार्यस्थलमा सिकिने महत्वपूर्ण सीप    हो ।

सबै कुरा आफ्नो नियन्त्रणमा हुँदैन । कुनै निर्णय आफूले चाहेजस्तो नहुन सक्छ, कुनै व्यवहार पनि बदल्न नसकिने हुन सक्छन । तर त्यस्तो अवस्थामा आफ्नो व्यावसायिकता र कामप्रतिको इमानदारी जोगाउन सकिन्छ । आफूले भोगेको व्यवहारलाई भविष्यमा अरूमाथि दोहोर्‍याउनैपर्छ भन्ने कदापी हुदैन र असल नेतृत्वले यस्तो सोच कहिले राख्न हुदैन ।

सुरुमा उल्लेख गरिएकी ती कर्मचारीको कथा नै सम्झौँ । केही वर्षपछि उनी कुनै कार्यालयकी प्रमुख बनिन् । पहिलो बैठकमै उनले सबैलाई भनिन्, “यहाँ हरेक व्यक्तिको सुझाव सुन्ने ठाउँ हुनेछ । सुझाव वा आलोचना आएमा त्यसलाई सम्मानपूर्वक ग्रहण गरिनेछ । सहमत हुन नसक्दा पनि किन सहमत हुन सकिएन भन्ने कारण स्पष्ट रूपमा बताइनेछ।” उनको यस खालको व्यवहारले केही हप्तामै नयाँ र कनिष्ठ कर्मचारीले समेत व्यावहारिक समस्या उठाउन थाले। आफूले भोगेको अप्ठ्यारो उनले अरूमाथि दोहोर्‍याइनन्, बरु त्यसैबाट आफ्नो नेतृत्वको शैली बनाइन्।

यो उदाहरणले देखाउँछ आफ्नो कुरा नसुनिएको अनुभवले सुन्ने बानी सिकाउन सक्छ, निर्णय अस्पष्ट हुँदा भएको अन्योलले कारण स्पष्ट पार्न सिकाउन सक्छ । यी दुई कुरा नेतृत्वको बलियो आधार हुन् भन्ने पाठ समेत यसवाट सिक्न सकिन्छ ।

नेतृत्व पद पाएपछि मात्र सुरु हुँदैन । अरूसँग कसरी व्यवहार गर्ने, असहमतिको सामना कसरी गर्ने, अधिकार प्रयोग गर्दा कति निष्पक्ष हुने र आफूभन्दा कमजोर अवस्थामा रहेका व्यक्तिको आवाजलाई कति महत्व दिने भन्ने कुराबाट नेतृत्वको आधार तयार हुन्छ ।

यसै सन्दर्भमा माया एन्जेलो को यस भनाइ निकै नै सान्दर्भिक हुन्छ “तपाईंले अरूलाई जस्तो व्यवहार गर्नुहुन्छ, त्यही व्यवहार कुनै न कुनै रूपमा तपाईंकहाँ फर्केर आउँछ ।” असल नेतृत्व भनेको आफूले भोगेको व्यवहार अरूमाथि दोहोर्‍याउनु होइन, आफूले चाहेको राम्रो व्यवहारको सुरुवात आफैँबाट गर्नु हो । राम्रो व्यवहारले राम्रो व्यवहारलाई आकर्षित गर्छ, विश्वासले विश्वास निर्माण गर्छ र सकारात्मक संस्कृतिले सकारात्मक परिणाम ल्याउँछ ।

हामीले भोगेको प्रत्येक व्यवहारलाई आफ्नो व्यवहारको नमुना बनाउनुपर्दैन । कतिपय व्यवहार अनुकरण गर्न होइन, त्यसबाट आफूले के नगर्ने भन्ने सिक्नका लागि पनि हाम्रो जीवनमा आउँछन् ।

त्यसैले कठिन अनुभवपछि हामीले के बोकेर अघि बढ्छौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ । असन्तुष्टि मात्र बोकेर हिँड्ने कि त्यसबाट केही सिकेर आफूले फरक व्यवहार गर्ने निर्णय हामीले नै गर्ने हो । सही दृष्टिले हेर्न सकियो भने, हामीले छोड्न चाहेको कार्यस्थल नै नेतृत्व सिक्ने पाठशाला बन्न सक्छ र त्यही पाठशालाबाट सिकेको सबैभन्दा ठूलो पाठ हुन सक्छ । आफूले पाएको व्यवहार होइन, आफूले अरूलाई दिएको व्यवहारले आफ्नो नेतृत्वको वास्तविक परिचय बनाउँछ ।