विराटनगर– विराटनगरमा शुद्ध खानेपानीको आपूर्ति बढाउने लक्ष्यसहित जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा निर्माण भइरहेको खानेपानी आयोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ। मुख्य संरचनाको निर्माण सम्पन्न भइसकेको आयोजनाबाट दशैंअघि नै नयाँ प्रणालीमार्फत पानी वितरण गर्ने तयारी नेपाल खानेपानी संस्थानले गरेको छ।
आयोजनाको प्रगतिबारे जानकारी लिन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शनिबार देवकोटा चोकस्थित नेपाल खानेपानी संस्थानको परिसरमा निर्माण गरिएका संरचनाको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्य पूरा हुने चरणमा पुगेको बताए।
जाइकाले आयोजना निर्माणका लागि स्वीकृति दिएपछि जग्गा व्यवस्थापन, सडक र विद्युत् जडानलगायतका समस्याले काम अघि बढाउन चुनौती सिर्जना गरेका थिए। ती समस्या समाधानका लागि महानगरपालिकाले सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गरेको थियो। महानगरपालिकाको पहल र विभिन्न निकायबीचको समन्वयपछि आयोजना निर्माणले गति लिएको हो । निरीक्षणका क्रममा आयोजनाका प्राविधिकले पानी उत्पादन, प्रशोधन, छान्ने प्रणाली र वितरण संरचनाबारे मेयर कोइरालालाई जानकारी गराएका थिए।
नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार आयोजनाको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको छ। अब विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन्। ती काम पूरा भएपछि नयाँ प्रणालीबाट पानी वितरण सुरु गरिनेछ ।
आयोजना निर्माणको अवधि सन् २०२६ अक्टोबरसम्म तोकिएको थियो। निर्धारित समयभित्र काम सम्पन्न गर्ने लक्ष्यअनुसार अधिकांश संरचना तयार भइसकेका छन्। यही बिहीबार जाइकाले आयोजना खानेपानी संस्थानलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको संस्थानले जनाएको छ।
दैनिक एक करोड लिटरभन्दा बढी पानी वितरण हुने
आयोजना सञ्चालनमा आएपछि विराटनगरको खानेपानी उत्पादन तथा वितरण क्षमता बढ्नेछ। हाल दैनिक करिब ९० लाख लिटर पानी वितरण हुँदै आएकोमा नयाँ प्रणाली सञ्चालनपछि एक करोड लिटरभन्दा बढी पानी वितरण गर्न सकिने संस्थानको भनाइ छ।
आयोजनाअन्तर्गत पुराना संरचनाको सुधारसँगै पानी उत्पादन, प्रशोधन र वितरण प्रणालीको क्षमता विस्तार गरिएको छ। नयाँ माथिल्लो पानी ट्यांकी निर्माण, पाइपलाइन विस्तार र विद्युत् आपूर्ति क्षमतामा समेत वृद्धि गरिएको छ। विराटनगरका देवकोटा चोक, तीनपैनी, मुनालपथ र विराटनगर–५ स्थित कोचाखाल पश्चिमका संरचनाबाट पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ। कोचाखाल पश्चिममा आयोजनाअन्तर्गत नयाँ माथिल्लो पानी ट्यांकी निर्माण गरिएको छ।
पाइपलाइन र पानी प्रशोधन प्रणालीको क्षमता विस्तार भएपछि वितरणमा देखिँदै आएका समस्या कम हुने संस्थानको अपेक्षा छ। यसबाट उपभोक्ताले नियमित र गुणस्तरीय खानेपानी पाउने तथा बढ्दो जनसंख्याको माग सम्बोधन गर्न सहज हुने विश्वास गरिएको छ । हाल नेपाल खानेपानी संस्थान विराटनगरका करिब १३ हजार २०० ग्राहक छन्। नयाँ प्रणाली सञ्चालनमा आएपछि थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउनसमेत सहज हुने संस्थानले जनाएको छ।
सुरक्षित खानेपानीको अपेक्षा
विराटनगरमा विगतमा दूषित खानेपानीका कारण जन्डिस फैलिँदा १४ जनाको मृत्युसमेत भएको थियो। त्यसयता सुरक्षित र गुणस्तरीय खानेपानीको उपलब्धता महानगरवासीका लागि महत्त्वपूर्ण सरोकार रहँदै आएको छ। नयाँ आयोजनाले पानी उत्पादन र वितरणको क्षमता बढाउनुका साथै प्रशोधन प्रणालीलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। आयोजना सञ्चालनमा आएपछि खानेपानीको उपलब्धता बढ्ने र वितरणमा देखिँदै आएका समस्या कम हुने विश्वास संस्थानले गरेको छ।
जग्गा व्यवस्थापनदेखि सडक र विद्युत् जडानसम्मका समस्यामा समन्वय गर्दै आएको महानगरपालिकाले आयोजनालाई विराटनगरको खानेपानी समस्या समाधान गर्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा लिएको छ। आयोजना सञ्चालनमा आएपछि महानगरको शुद्ध खानेपानीसहित व्यवस्थित सहर निर्माण गर्ने योजनालाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

