विराटनगर– शिक्षाकर्मी तथा निजी क्षेत्रका शैक्षिक उद्यमी टिकाराम पुरीले विराटनगर महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन्। भ्रष्टाचार न्यूनीकरण, सुशासन र समृद्धिको अभियान सञ्चालन गर्दै आएका पुरीले आगामी स्थानीय तहको निर्वाचनमा विराटनगरको मेयर बन्ने चाहना सार्वजनिक गरेका हुन्।
हिमालय मातृभूमि फाउण्डेशनका अध्यक्षसमेत रहेका पुरीले औपचारिक रूपमा उम्मेदवारी घोषणा नगरे पनि विराटनगरलाई आधुनिक, सुन्दर र समृद्ध सहरका रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताएका छन्। त्यसका लागि आफूमा स्पष्ट दृष्टिकोण, योजना र कार्यक्षमता रहेको उनको दाबी छ।
‘विराटनगरलाई आधुनिक सहरका रूपमा विकास गर्न मन छ। दृढ इच्छाशक्ति र दीर्घकालीन सोचका साथ काम गर्ने हो भने यसलाई सुन्दर र समृद्ध महानगर बनाउन सकिन्छ,’ पुरीले भने।
कुनै समय नेपालको दोस्रो ठूलो सहरका रूपमा परिचित विराटनगर अहिले अपेक्षाअनुसार विकास हुन नसकेको उनको बुझाइ छ। पुरानै शैली र कार्यशैलीबाट महानगर सञ्चालन गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै उनले विकासका लागि स्पष्ट लक्ष्य, स्रोतको पहिचान र प्रभावकारी परिचालन आवश्यक रहेको बताए।
‘लक्ष्यअनुसार अघि बढ्न सक्नुपर्छ। स्रोतको पहिचान र परिचालन गर्न सक्नुपर्छ। त्यसो गर्ने हो भने असम्भव केही छैन,’ उनले भने।
विराटनगरको ऐतिहासिक पहिचान र सम्भावनाअनुसार विकास हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्दै पुरीले अब पनि महानगरको मुहार फेर्न नसके कहिले गर्ने भन्ने प्रश्न गरे। ‘विराटनगरको इतिहास गर्विलो छ। तर, विभिन्न समयमा नेतृत्व गर्नेहरूले त्यसको ओझअनुसार विकास गर्न सकेनन्। अब पनि हामीले नगरे कसले गर्ने ? यो कुरा महानगरवासीले बुझिसकेका छन्,’ उनले भने।
उनका अनुसार महानगरको विकासका लागि पाँच वर्षे कार्ययोजना बनाएर चरणबद्ध रूपमा कार्यान्वयन गर्नुपर्छ। पहिलो वर्षदेखि नै स्पष्ट लक्ष्य निर्धारण गरी दोस्रो, तेस्रो हुँदै पाँचौँ वर्षसम्मका उपलब्धि तय गरेर काम गर्ने हो भने महानगरको स्वरूप परिवर्तन गर्न सकिने उनको दाबी छ।
चुनाव जितेपछि जिम्मेवारी पूरा भएको ठान्ने प्रवृत्तिका कारण महानगरको विकासले गति लिन नसकेको उनको टिप्पणी छ। निर्वाचन जित्नुलाई उपलब्धि ठान्नेभन्दा पनि जनतासामु गरेका प्रतिबद्धता पूरा गर्ने गरी नेतृत्व अघि बढ्नुपर्ने उनको भनाइ छ।
देशभरका उत्कृष्ट निजी विद्यालयमध्येमा चिनिने एभरेष्ट सेकेण्डरी स्कुल र एभरेष्ट कलेज सञ्चालन गर्दै आएका पुरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का पूर्वकेन्द्रीय अध्यक्ष हुन्। नेकपा एमालेनिकट रहेर प्रदेश कमिटी सदस्यको जिम्मेवारीसमेत सम्हालेका उनी केही समयअघि पार्टीबाट बाहिरिएका थिए। एमालेले पनि अपेक्षाअनुसार काम गर्न नसकेको उनको असन्तुष्टि थियो।
मेयरमा उम्मेदवारी दिए कुन राजनीतिक दलबाट दिने भन्ने विषयमा भने उनले खुलाएका छैनन्। ‘अहिलेसम्म कसैसँग कुरा भएको छैन। समय आउँदै जाँदा यसबारे थप भनौँला,’ उनले भने।
पुरीले मेयरमा उठ्ने इच्छा व्यक्त गरेसँगै उनको सम्भावित राजनीतिक यात्राबारे विराटनगरमा चर्चा सुरु भएको छ। उनी एमालेबाटै उम्मेदवार बन्ने, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध हुने, कुनै गठबन्धनको साझा उम्मेदवार बन्ने वा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने भन्ने विषयमा विभिन्न अड्कलबाजी भइरहेका छन्। तर, पुरीले भने कुनै दलसँग छलफल नभएको स्पष्ट पारेका छन्। ‘कुनै कुरा भएको छैन। विराटनगरको मुहार फेर्न उम्मेदवारी दिने मन छ,’ उनले भने।
को हुन् टिकाराम पुरी ?
टिकाराम पुरीको जन्म २०२३ वैशाख १ गते संखुवासभाको खाँदबारी–७, माल्टा खिप्रिङमा पदमलाल पुरी र अमृता पुरीका सन्तानका रूपमा भएको हो। हाल उनी विराटनगर–५ का स्थायी बासिन्दा हुन्।
एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि २०४२ सालमा विराटनगर आएका पुरीले अध्ययनसँगै शिक्षण पेसा सुरु गरेका थिए। केही समय शिक्षण पेसामा आबद्ध भएपछि उनले एभरेष्ट सेकेण्डरी स्कुल सञ्चालनमा ल्याए। अहिले एभरेष्ट स्कुल देशकै स्थापित निजी शैक्षिक संस्थामध्ये एकका रूपमा चिनिन्छ। शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार दुवैमा अब्बल मानिने उक्त संस्थाको नेतृत्व गर्दै आएका पुरी शैक्षिक व्यवस्थापनका क्षेत्रमा कुशल व्यक्तिका रूपमा परिचित छन्।
निजी विद्यालयहरूको छाता संगठन प्याब्सनको मोरङ जिल्ला सदस्यबाट संगठनको यात्रा सुरु गरेका पुरीले सचिव, अध्यक्ष हुँदै केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका छन्। २०५४ सालमा प्याब्सन मोरङको सदस्य बनेका उनी त्यसपछि दुई कार्यकाल सचिव र दुई कार्यकाल जिल्ला अध्यक्ष भए। केन्द्रीय उपाध्यक्षमा दुई कार्यकाल काम गरेका पुरी वरिष्ठ उपाध्यक्ष र अध्यक्षको प्रतिस्पर्धामा एक–एक पटक पराजित भए पनि अन्ततः प्याब्सनको केन्द्रीय अध्यक्ष बन्न सफल भए।
उपत्यकाबाहिरबाट पहिलोपटक प्याब्सनको केन्द्रीय नेतृत्वमा पुगेका पुरीले संगठनको संस्थागत विकासमा महत्त्वपूर्ण योगदान गरेको निजी विद्यालय सञ्चालकहरूको भनाइ छ। उनको नेतृत्वमा निजी विद्यालयमैत्री कानुन निर्माणका लागि नीतिगत पैरवी हुनुका साथै कोभिड महामारीका बेला निजी विद्यालयका समस्या समाधानका लागि पनि पहल भएको उनीहरू बताउँछन्। प्याब्सनको संस्थागत व्यवस्थापनलाई व्यवस्थित बनाउन काठमाडौंको तीनकुनेमा तीनतले भवन खरिद गर्ने काम पनि उनकै नेतृत्वमा भएको थियो।
पुरीले नेतृत्व गरेका संगठनहरू गतिशील र प्रभावकारी हुने गरेको निजी विद्यालय सञ्चालकहरूको बुझाइ छ। प्याब्सनका नेता अर्जुन बस्नेत पुरीलाई कुशल संगठक र व्यवस्थापकका रूपमा चित्रण गर्छन्।
‘टिकाराम पुरी एक कुशल संगठक र व्यवस्थापक मात्रै नभई दृढ इच्छाशक्ति तथा अब्बल भिजन भएका व्यक्ति हुन्,’ बस्नेतले भने, ‘आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सक्ने क्षमता उहाँमा छ।’
शिक्षा क्षेत्रसँगै आर्थिक तथा उत्पादनमूलक गतिविधिमा समेत रुचि राख्ने पुरीको मान्यता छ– उमेर पुगेका कुनै पनि नेपाली बेरोजगार बस्नु हुँदैन। युवालाई उत्पादनसँग जोड्ने र सबैले काम गर्नैपर्ने वातावरण निर्माण गर्ने जिम्मेवारी राज्यको भएको उनी बताउँछन्। यसका लागि स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले भूमिका खेल्नुपर्ने उनको तर्क छ।
शिक्षण संस्थाको सञ्चालनसँगै पुरीले कृषि फार्मसमेत सञ्चालन गर्दै आएका छन्। यसबाहेक मोरङमै विद्युतीय सवारीसाधन उत्पादन गर्ने उद्योग स्थापना गर्ने तयारीमा रहेको उनले बताएका छन्।
शिक्षा, संगठन व्यवस्थापन र उद्यमशीलताको अनुभवलाई अब महानगरको नेतृत्वमा प्रयोग गर्ने चाहना व्यक्त गरेका पुरीको राजनीतिक यात्रा र उम्मेदवारीको औपचारिक निर्णय भने आगामी दिनमा स्पष्ट हुँदै जानेछ।
