विराटनगर–विराटनगर–५ स्थित एभरेष्ट माध्यमिक विद्यालयको मन्टेश्वरी तहमा दशैं, तिहार, नेपाल संवत्, म्हः पूजा र छठलगायतका पर्वको महत्व र मनाउने विधिबारे जानकारी दिने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको छ।

पाठ्यक्रममा चाडपर्वका विषय समेटिए पनि तिनलाई व्यवहारमा कसरी मनाइन्छ भन्ने ज्ञान विद्यार्थीलाई प्रत्यक्ष रूपमा दिन कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा नवरात्रिमा पूजा गरिने दुर्गा माताका विभिन्न स्वरूपमा विद्यार्थीलाई सजाइएको थियो। साथै दशैंमा गरिने पूजा आराधना र मनोरञ्जनात्मक गतिविधिमा समेत विद्यार्थी सहभागी भएका थिए।

त्यसैगरी म्हः पूजाको विधि, तिहारमा गरिने विभिन्न संस्कार र छठ पर्वमा हुने गतिविधि विद्यार्थीले प्रस्तुत गरेका थिए। मन्टेश्वरी तहको प्ले ग्रुपदेखि कक्षा १ सम्मका करिब २५० विद्यार्थीले विभिन्न चाडपर्वको झाँकी तथा गतिविधि प्रदर्शन गरेका थिए।

विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले चाडपर्व नेपाली कला, संस्कृति र संस्कारका अभिन्न अंग भएको बताए। पूर्वीय दर्शनमा आधारित नेपाली संस्कार र संस्कृतिको संरक्षणका लागि विद्यार्थीलाई सानैदेखि व्यवहारिक ज्ञान दिन कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।

‘हाम्रो कला, धर्म र संस्कृति जोगाउनुपर्छ। त्यसका लागि व्यवहारिक ज्ञान दिनुपर्छ भन्ने उद्देश्यले प्रयोगात्मक रूपमा प्रदर्शन गरिएको हो,’ उनले भने।

एभरेष्टले शिक्षासँगै सीप, संस्कार र प्रविधिलाई जोडेर अघि बढिरहेको उल्लेख गर्दै पुरीले किताबी ज्ञानलाई प्रयोगात्मक अभ्यासमार्फत सिकाउने गरिएको बताए। बालबालिकालाई सानै उमेरदेखि आफ्ना कला, धर्म, संस्कृति र संस्कारबारे जानकारी गराउन आवश्यक रहेको उनको भनाइ थियो।

उनले मन्टेश्वरी तहमा गरिएको अभ्यासलाई निरन्तरता दिँदै आगामी दिनमा प्राथमिक तहका विद्यार्थीलाई समेत चाडपर्व लक्षित कार्यक्रममार्फत सहभागी गराइने जानकारी दिए।

कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइराला, विद्यालय प्रशासन प्रमुख एञ्जिला कोइराला र अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोललगायतको उपस्थिति थियो।