विराटनगर । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनका लागि मोरङ क्षेत्र नम्बर ६ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेकी छन् । उनले महिला खुलातर्फबाट प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
कांग्रेसको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेकी संग्रौला लामो समयदेखि पार्टी संगठन र केन्द्रीय राजनीतिमा सक्रिय छिन् । उनी नेपाल महिला संघको केन्द्रीय अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेकी छन् । त्यसपछि कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय हुँदै केन्द्रीय सदस्य र सहमहामन्त्रीको जिम्मेवारीमा पुगेकी हुन् ।
संग्रौलाले पार्टी संगठनमा महिला सहभागिता, आन्तरिक लोकतन्त्र र विचारमा आधारित राजनीतिको विषयलाई निरन्तर उठाउँदै आएकी छन् । १५औँ महाधिवेशनको सन्दर्भमा पनि उनले नेतृत्वका विषयमा प्रतिस्पर्धा भए पनि पार्टीलाई कमजोर बनाउने गतिविधि गर्न नहुने धारणा राख्दै आएकी छन् । महाधिवेशनलाई पार्टीभित्रका मतभिन्नता समाधान गर्ने लोकतान्त्रिक माध्यमका रूपमा प्रयोग गर्नुपर्ने उनको जोड छ ।
संग्रौलाको राजनीतिक सक्रियता भने विद्यार्थी राजनीतिदेखि नै सुरु भएको हो । उनको जीवनीअनुसार २०४६ सालको जनआन्दोलनमा सक्रिय भएपछि नेपाली कांग्रेस विराटनगरको तत्कालीन वडा संगठनबाट राजनीतिक जिम्मेवारी पाएकी थिइन् । त्यसपछि वडा, नगर र जिल्ला तहका विभिन्न जिम्मेवारी हुँदै उनी पार्टीको केन्द्रीय राजनीतिमा पुगेकी हुन् ।
उनले लामो समय प्राध्यापनसमेत गरेकी छन् । राजनीति र अध्यापनलाई सँगसँगै अघि बढाउँदै उनले विभिन्न विषयमा अनुसन्धान तथा लेखरचना प्रकाशित गरेकी छन् । कांग्रेसको राजनीतिक विचार, प्रजातान्त्रिक समाजवाद र पार्टीको भावी दिशाबारे उनका लेखहरू विभिन्न सञ्चारमाध्यममा प्रकाशित हुँदै आएका छन् ।
संग्रौला २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् । संसद्मा रहँदा राज्य व्यवस्था तथा सुशासनलगायतका विषयमा काम गरेकी उनले जनजीविकासँग जोडिएका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएकी थिइन् ।
कांग्रेसको नीति, संगठन र आगामी दिशाबारे पनि संग्रौलाले सार्वजनिक रूपमा आफ्ना धारणा राख्दै आएकी छन् । उनले पछिल्लो समय कांग्रेसलाई समयअनुकूल र प्रविधिमैत्री बनाउँदै युवा तथा महिलालाई संगठनमा थप अवसर दिनुपर्नेमा जोड दिएकी छन् । १५औँ महाधिवेशनलाई नेतृत्व चयनसँगै पार्टीको नीति, विचार र संगठनलाई नयाँ ढंगले अघि बढाउने अवसरका रूपमा लिनुपर्ने उनको धारणा छ ।
यसपटक मोरङ–६ बाट महिला खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उनको उम्मेदवारीले क्षेत्रीय अधिवेशनलाई समेत थप चासोको विषय बनाएको छ । मोरङमा महाधिवेशनको प्रक्रिया अघि बढेसँगै विभिन्न तहका नेतृत्व चयनका गतिविधि भइरहेका छन् । संग्रौलाको उम्मेदवारीसँगै महिला खुलातर्फको प्रतिस्पर्धा पनि थप चासोको विषय बनेको छ । उम्मेदवारी दर्ता र त्यसपछि बन्ने समीकरणले प्रतिस्पर्धाको स्वरूप स्पष्ट पार्नेछ ।

