विराटनगर–नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले मुलुकमा कर तिर्ने वर्ग नै निरास भएको बताएका छन् । उनले गरिखाने युवाबर्ग सबै विदेश पलायन हुनु र उद्यम गरेर टिक्न खोज्ने व्यवसायीहरु हतास हुनु भनेको राष्ट्र सिकिस्त विरामी हुनु हो भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराए ।


प्रतिनिधिसभा बैठकमा आइतबार बोल्दै कोइरालाले केही महिनादेखि आफूले देशका मुर्धन्य अर्थविद्, उद्योगपति, व्यवसायी, व्यापारी र उत्पादनका क्षेत्रमा लागेका साना ठुला अनेकौं समूहसँग छलफल गर्दा सरकारलाई कर तिर्ने वर्ग अहिले निराश भएको आफूले पाएको बताए ।


‘जोखिम मोलेर मिहेनत गर्दै आफ्नो उद्यमशीलताको बलमा स्व-पुँजी परिचालन गर्ने, रोजगारी सिर्जना गर्ने र सरकारलाई कर तिर्ने वर्ग अहिले निराश भएको पाएँ’ कोइरालाले भने, ‘गरिखाने युवा वर्ग सबै विदेश पलायन हुन खोज्नु र यहिँ उद्यम गरेर टिक्न खोजेका व्यवसायीहरू हतास मनस्थितिमा रहनु भनेको हाम्रो राष्ट्र सिकिस्त बिरामी भएको अवस्था हो ।’


कोइरालाले यो विषयलाई आफूले निकै गम्भिरतापूर्वक प्रतिनिधिसभामा राख्न चाहेको बताएका थिए । उनले मुलुकको सवै क्षेत्रको व्यापार घट्दा उद्योगको उत्पादन घट्नु स्वभाविक भएको भन्दै व्यापारमा व्यस्त रहने देशका प्रमुख शहर बजारहरू उजाड भएको र बेरोजगारी बढेको बताए ।


भर्खरै प्रकासित जनगणनाको प्रतिवेदनअनुसार काम गर्ने उमेरका झण्डै एक तिहाई नेपाली केही कुनै आर्थिक उपार्जनको काममा संलग्न नभएको तथ्याङ्कले झन भयाभय स्थिति सिर्जना गर्न सक्ने उनले चिन्ता व्यक्त गरे ।


कोरोना महामारी, फरक शैलीमा उदाएको नयाँ शीतयुद्ध र मुलुकको अर्थतन्त्रमा गरिनुपर्ने समय सापेक्ष सुधारको कमी लगायतका थप अनेकौं कारणहरूले देशको अर्थतन्त्रले गति लिन नसकेको उनले बताए । नेपालको अर्थतन्त्रको मेरुदण्ड नै विप्रेषण प्राप्त विदेशी मुद्रा भएको र यसैले अर्थतन्त्रलाई जोगाएको उनले बताए । विप्रेषणकै कारण नेपाल श्रीलंका र पाकिस्तानको जस्तो संकटतर्फ जानबाट रोकिंदै आएको कोइरालाले बताए ।


यही बीचमा मुलुकमा अकल्पनीय राजनीतिक द्वन्द्वका नयाँ कम्पनहरू अनेकन् रंगरुपमा देखिन थालेको कोइरालाले सुनाए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती बढेकोले सामाजिक तथा सांस्कृतिक पक्षबाट मुलुकले भोगिरहेको नैतिक संकटबारे गम्भिरतापूर्वक छलफलको प्रारम्भ हुनुपर्नेमा जोड दिए ।

 

कोइरालाले लिखित सम्बोधनका क्रममा ढिलो नगरी जनअपेक्षा अनुरुप संसद, सरकार र प्रतिपक्ष सबै एकै ठाउँमा उभिएर नागरिकका चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले विगतका कमी कमजोरीले संघीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा दिनप्रति दिन चुलिदै जानुले राजनीतिक प्रणालीलाई असफलताको खुड्किलोतर्फ अघि बढाएको बताए ।


गत निर्वाचनमा लामवद्ध भएर भोट हाल्ने नागरिक किसानहरूले मल पाउन नसकेको, लाखौं युवाहरू रोजगारीको लागि मलेसिया र मध्यपूर्वको तातो भूमिमा पलायन भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

‘राम्रो शिक्षा र रोजगारीको खोजीमा पश्चिम युरोप, अस्ट्रेलिया, अमेरिका लगायत संसारका कुनाकुनामा जान ज्यान फालेर लागेका युवाहरूको अनुहार अगाडि आउँछ, यिनलाई केन्द्रमा राखेर हामी हाम्रो सम्पूणर् अर्थराजनीतिको नयाँ पहिचान निर्माण गर्न कहिलेवाट शुरु गर्ने हो ?’ उनको प्रश्न थियो 


सरकारलाई चुनौतीका चाङ


कोइरालाले सरकारको सामु चुनौतीको चाङ रहेको बताएका छन् । तर नागरिकलाई भरोसा र विश्वास लिएर अगाडि बढ्दा अवसरका अपार सम्भावना पनि रहेको उनले उल्लेख गरे । सरकारलाई धेरै राजनीतिक दलहरूको समर्थन रहेको तर समर्थन लिन जति सजिलो छ त्यसलाई जोगाउन त्यत्ति नै गाह्रो पनि भएको उनले टिप्पणी गरे ।

‘जुन कुरा हामीले सरकार बनेको दुई महिनामा दुई पटक विश्वासको मत दिनुपर्दा राम्रोसँग बुझेका छौं, कुनै पनि सरकार टिकाउन जति महत्व संसदभित्रको गणितको हुन्छ त्यो भन्दा बढी महत्व आम नागरिकबीच सरकारको विश्वासले निर्धारण गर्दछ’ उनले भने, ‘नागरिकको विश्वास र संसदको समर्थनबाट देशमा देखापरेको अर्थतन्त्रको संकट सम्बोधन गरेर समृद्धिको यात्रा तय गर्न सकिन्छ, यसका लागि प्रधानमन्क्रीले ईच्छा शत्तिको मात्र प्रदर्शन गरेर पुग्दैन सम्पूणर् मन्त्रिमण्डललाई नैतिक रुपमा तलमाथि गर्न नदिने प्रण गर्नुपर्छ ।’संसदमा झण्डै १५ मिनेट बोलेका कोइरालाले समाजवाद भ्रष्टाचारको जगबाट नआउने भन्दै सरकारप्रति कटाक्ष पनि गरेका थिए ।