विराटनगर–गरिवीका कारण विद्यालय नगएका बालबालिकालाई भेला गराएर योगेन्द्र मण्डल अर्थात जोगीसरले निःशुल्क ट्युसन पढाएका थिए । त्यही ट्युसन अभियानले जीवन विकास समाज स्थापना भएको थियो । २७ वर्षअघि तत्कालीन मोरङ अमाही बरियाती गाविसमा २०५२ सालमा गाउँका दुई बालकलाई ट्युसन पढाएर जीवन विकासको अभियान थालिएको थियो ।


मण्डलले गाउँका यति धेरै विद्यार्थीलाई निशुल्क ट्युसनको शिक्षा दिए जसले गर्दा उनले ‘जोगीसर’को उपनाम पाए । गाउँमा योगेन्द्रमात्रै भन्दा मान्छे अलमलिन सक्छन तर जोगिसर भनेपछि जोकोहीले उनलाई जान्दछ ।


उनै जोगीसर आगामी निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको स्तन्त्र उमेदवार बनेका छन् । जीवन विकास समाजको सफलतापछि जोगीसरको नामले चर्चित बनेका उनलाई गाउँलेले चुनाव चिन्ह चापाकल ‘ट्युबेल’ मा मतदान गर्ने बताएका छन् । कतिपयले जोगीसरलाई मतदान गर्ने बताए पनि उनको चुनाव चिह्नका बारेमा अन्यौलता प्रकट गरेका छन ।

313197704_122692423954521_1151889162991167725_n


‘जोगीसरलाई भोट दिने भन्छन, चुनाव चिह्नमा अलमलिन्छन’ जहदा गाउँपालिकाका दिवाकर शर्माले भने–‘सबैको मुखमा जोगीसरको नाम छ, तर चापाकल चिह्नमा अलमल देखिन्छ ।’ निर्वाचन क्षेत्रका धेरै जसो मानिसले मण्डललाई नै समर्थन गर्ने बताएका छन । जीवन विकासले देशभरका लाखौं मानिसलाई समेटेको विषयमा भने निर्वाचन क्षेत्रका कमैलाई थाहा छ ।


मण्डलको अगुवाइमा शिक्षा, स्वास्थ्य र कृषिमा गरिव परिवारलाई सहयोग गर्न समाज स्थापना भएको थियो । समाजले २५ वर्षमा ३ लाख भन्दा बढी मानिसलाई समेटेको छ । त्यही ट्युसनको विकसित रुप हो हालको १९ बिघा जमिनमा ठूलाठूला भवनमा रहेको जीवन विकास पब्लिक स्कूल । यहाँ १ हजार ५ सय बढी विद्यार्थी अध्ययनरत छन ।


‘मेरो कुर्बानी थियो यो अभियान, त्यसैले मैले कहिल्यै जागिर नखाई अभियानमा लागिरहेँ’ योगेन्द्र मण्डलले भने । समाजका संस्थापक अध्यक्ष मण्डल अहिले देशकै अगुवा सामाजिक अभियन्तामा चिनिन्छन् । अरूको खेतमा काम गरेर पेट पाल्ने परिवारका छोराछोरी पढ्न नपाएको देखेर सहकारीमार्फत गरिबी कम गर्ने र विद्यार्थीलाई पढाइको व्यवस्था मिलाउने उद्देश्यले २०५४ मा समाज दर्ता भएको थियो ।


समाजका जन्मदाता योगेन्द्र मण्डलका अनुसार, अमाही बरियातीका सुकुम्वासी दाजुभाइ शिवचरण र देवनारायण मण्डलका कारण जीवन विकास स्थापना भएको हो । शिवचरण हाल लघुवित्तको बुधनगर शाखा र देवनारायण धनुषास्थित किशानपुर शाखामा शाखा प्रमुख छन् ।


पब्लिक स्कूलको जग बीएस्सी परीक्षा दिएर गाउँ आएका मण्डलले बसालेका हुन् भन्दा जो–कोहीलाई पत्याउन गाह्रो हुन्छ । अंग्रेजी माध्यममा पढाइ हुने यो विद्यालयको स्थापना र यसको विकासको कथा रोचक र प्रेरक छ । गाउँमा निस्शुल्क ट्युसन पढाउन थालेपछि पढ्न आउनेहरू यति धेरै भए कि बिहान–बेलुका दुई पटक पढाउनुपर्ने बाध्यता आयो । जोगीसरसँगै बिक्रम सुबेदी, संजय मण्डललगायतले विद्यार्थी पढाए ।


हाल समाजले चार पालिकाका ६ स्थानमा बाल विकास केन्द्र पनि सञ्चालन गरिरहेको छ । केन्द्रमार्फत अहिले ५ सय भन्दा बढी बालबालिकाले शिक्षा लिदै छन । २२ किलोमिटर पूर्वको डाइनिया र १२ किलोमिटर पश्चिमको विराटनगरका विद्यार्थी समेत यहाँ पढ्न आउँछन् । कम शुल्क र रिजल्ट राम्रो भएकाले विद्यार्थी संख्या बढ्दो क्रममा रहेको प्रधानाध्यापक अजयकुमार मण्डल बताउँछन् ।


त्यहीँ निस्शुल्क ट्यूसन पढेर अहिलेको अवस्थासम्म आइपुगेका प्रअ मण्डलका अनुसार जीवन विकास स्कूलले अधिकतम मासिक २ हजार रुपैयाँ मात्रै विद्यार्थीबाट शुल्क लिने गरेको छ । जीवन विकास समाजका सदस्यका छोराछोरीलाई शुल्कमा १० प्रतिशत छुटको व्यवस्था पनि छ । यहाँ अध्ययनरत ९० प्रतिशत विद्यार्थीका अभिभावक समाजका सदस्य छन् ।


विद्यालय ब्यवस्थित होस् भनेर समाजले १० करोड रुपैयाँको अक्षयकोष खडा गरेको छ । विद्यालय गुठीमार्फत सञ्चालन हुन्छ । विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका क्रममा उत्पादित कृषि उपजबाट पनि विद्यालयले आम्दानी गरिरहेको छ ।


त्यसबाहेक कक्षा ६ का विद्यार्थीलाई हरेक वर्ष ऊनको टोपी बनाउन तालिम दिइन्छ । कतिपय विद्यार्थी आफैले बुनेको टोपी लगाउने गरेका छन् । विद्यालयले बालशिक्षा र किशोरीशिक्षाका छुट्टाछुट्टै कक्षा पनि सञ्चालन गरिरहेको छ । बालशिक्षाका लागि बेग्लै भवनमा अध्ययनरत बालबालिकालाई विद्यालयले पौष्टिक आहार पनि उपलब्ध गराउँछ । समाजले गैरनाफामूलक सीटीईभीटीको तालिम कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।


गुणस्तरीय शिक्षा दिएकाले समाजले विश्व चर्चित पुरस्कार पनि प्राप्त गरेको छ । गुणस्तरीय शिक्षाका लागि राम्रो काम गरेकाले जीवन विकास समाजलाई द अरब गल्फ प्रोग्राम फर डेभलपमेन्टले ‘क्वालिटी एजुकेशन फर अल’ पुरस्कारबाट सम्मानित गरेको छ ।


तीन लाख अमेरिकी डलरको यो पुरस्कार सन् २०१८ मा संयुक्त राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा आयोजित कार्यक्रममा स्पेनकी महारानी सोफिया र साउदी अरबका राजकुमार तलाल विन अब्दुल अजिजले समाजका अध्यक्ष योगेन्द्र मण्डललाई प्रदान गरेका हुन । तीन करोड १० लाख रुपैयाँ बराबरको उक्त रकममा त्यति नै थपेर कोष खडा गरिएको छ ।


उक्त कोषको रकमबाट सामुदायिक विद्यालयहरूको शिक्षा सुधारमा एक करोड १० लाख रुपैयाँ खर्च गरिएको छ । ६ करोड रुपैयाँको अक्षय कोष बनाई त्यसको ब्याजबाट दिगो विकासका १७ वटा लक्ष्य राख्ने ब्यक्ति वा संस्थालाई वार्षिक १५ लाख रुपैयाँको ‘दिगो विकासका निम्ति जीवन विकास पुरस्कार’ प्रदान गरिन्छ ।


यस वर्ष सो पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत वितरण गरिएको छ । सन् २००५ मा समाजले नेपाल डेभलपमेन्ट मार्केट प्लेसको ‘लौन अब त केही गरौं’ शीर्षकको १४ लाख रुपैयाँ राशि भएको पुरस्कार पनि पाएको थियो ।

साभारः उद्घोष दैनिक