विराटनगर–कच्चा पदार्थ र तयारी बस्तुमा एक तहको भन्सार शुल्क फरक हुनुपर्ने नियम विपरित सरकारले ल्याएको आर्थिक बर्ष २०७९÷२०८० बजेटमा प्रशोधित पाम र पामोलिन तेल आयातमा ५ प्रतिशत मात्रै भन्सार महसुल तोकेकोमा संघले विरोध जनाएको हो । पाम र पामोलिनको कच्चा पदार्थ(क्रुड आयल) आयातमा १० प्रतिशत भन्सार लाग्दै आएको छ । त्यसैको फिनिस गुडमा सरकारले ५ प्रतिशत मात्रै भन्सार शुल्क तोकेकोमा संघले विरोध जनाएको हो । 

स्वदेशी उद्योगलाई संकट तिर धकेल्ने गरि आएको निर्णय प्रति आपत्ती जनाउदै नेपाल वनस्पती घ्यू तेल उत्पादक संघले तत्काल निर्णय सच्याउन सरकारलाई आग्रह गरेको छ । चाउचाउ र विस्कुट लगायतका उद्योगलाई तयारी पाम तेल र पामोलिन तेल आयात गर्दा ५ प्रतिशत मात्रै भन्सार महशुल लाग्ने व्यवस्था बजेटले गरेपछि पाम तेल निकासी गरि सबैभन्दा बढी राजश्व तिर्दै (कच्चा पदार्थ आयातमा)आएका २२ वटा उद्योग धरासाई हुने भएका हुन । 

केही सिमित उद्योगलाई फाइदा पुग्ने गरि सरकारले ल्याएको त्रुटी पूर्ण नीतिले २२ वटा वनस्पती घ्यू तेल उधोग बन्द हुने अवस्थामा पुगेको संघका केन्द्रिय सदस्य विपिन कावराले बताए । सरकारले बजेट बनाउनु अघि विज्ञसंग छलफल गर्नु पर्नेमा त्यसो नगरि हचुवाका भरमा निर्णय गरेकाले त्यसले केही उधोगलाई बचाउने र धेरै उद्योगलाई डुवाउने नीति लिएको आरोप कावराले लगाए । 

तेल उद्योगहरुले ल्याउने कच्चा पदार्थमा १० प्रतिशत भन्सार महसुल लाग्ने गरेको तर बिस्कुट, चाउचाउ उद्योगका लागि भन्दै पाम र पामोलिन तेल आयातका लागि ५ प्रतिशत मात्रै भन्सार शुल्क तोकिनु नै विरोधाभाषपूर्ण रहेको संघका केन्द्रिय अध्यक्ष संदिप कुमार अग्रवालले बताए । अग्रवालाद्वारा जारी विज्ञप्तीमा प्रशोधितभन्दा कच्चा पदार्थको भन्सार शुल्क एक तह कम हुने सरकारी नीति बिपरित रहेको उल्लेख छ । 

संघले जारी गरेको विज्ञप्तीमा भनिएको ‘उपभोक्तालाई प्रत्यक्ष रुपमा राहत दिनका लागि खाने तेलको महसुल दर कम गर्नुको सट्टा अन्य उद्योगलाई कम महसुल दरमा तयारी खाने तेल आयात गर्न दिने नीति विवेकपूर्ण छैन ।’ अर्कोतर्फ यो व्यवस्थाले साबुन उद्योगलाई समेत असर पार्ने संघले जनाएको छ । 

स्वदेशी तेल उद्योगले तेल प्रशोधन गर्दा निस्कने फ्याटी एसिड साबुन उद्योगलाई कच्चा पदार्थ हुने गरेको तर अब स्वदेशी तेल उद्योग नै सञ्चालन हुन नसक्ने अवस्था आउँदा साबुन उद्योगलाई कच्चा पदार्थ अभाव हुने घिउ तेल उत्पादक संघको दावी छ । उनीहरुले ती सामाग्री मगाउदा विदेशी मुद्रा बाहिरिने भएकोमा समेत संघले सचेत गराएको छ । 

नेपालबाट यस आर्थिक वर्षको वैशाख मसान्तसम्म १० महिनामा ८७.६० अर्ब बराबरको वनस्पति तेल भारत निकासी भएको तथ्यांक संघले दिएको छ । बजेटका कारण यसमा उल्लेख्य कमी आउने संघले चेतावनी दिएको छ ।  यो व्यवस्था अविलम्ब सच्याउन पनि माग गरेको छ ।