नेपाल माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनसिपको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार आफ्नो दोस्रो खेल खेलेको नेपालले श्रीलङ्कामाथि ३–२ गोलको जित निकाल्दै शीर्ष स्थान कब्जा गरेको हो ।

यसअघि नेपालले घरेलु टिम माल्दिभ्समाथि १-० गोलको जित निकालेको थियो । दोस्रो जितसँगै नेपालले ६ अंक जोड्दै शीर्ष स्थान बनाएको हो । 

गए राति माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रङ्गशालामा नेपाललाई जिताउन सुमन लामा, अन्जन विष्ट र आयुष घलानले एक–एक गोल गरे । श्रीलङ्काका मार्भिन ह्यामिल्टन र डिलियन डी सिल्भाले एक–एक गोल गरे । 

खेलको पहिलो हाफको ३०औँ मिनेटमा नेपालले सुमनको गोलले अग्रता लिएको थियो । दोस्रो हाफको ५२औँ मिनेटमा अन्जनले अर्को गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाएका थिए । 

तर खेलको ५६औँ मिनेटमा श्रीलङ्काका ह्यामिल्टनले गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेका थिए । खेलको ८६औँ मिनेटमा आयुशले तेस्रो गोल गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए ।

निर्धारित समयपछि थपिएको अतिरिक्त समयमा श्रीलङ्काले पाएको पेनाल्टी पाएको थियो । पेनाल्टीमा सिल्भाले गोल गर्दै टोलीलाई पुनः खेलमा फर्कने प्रयास गरेपनि नेपालको जितलाई श्रीलङ्काले रोक्न भने सकेन ।