माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत भारत र बङ्गादेशले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सोमबार भएको पहिलो खेलमा भारत र बङ्गलादेशले १–१ गोलको बराबरी खेलेका हुन् । 

माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा भारतले सुरुवाती अग्रता उल्टाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो । खेलको २६औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । 

खेलको ५४औँ मिनेटमा विश्वनाथ घोसले रातो कार्ड पाएपछि बङ्गलादेश १० खेलाडीमा सीमित बनेको थियो । ७४औँ मिनेटमा यसिन अराफतले गोल गर्दै बङ्गलादेशलाई बराबरीमा फर्काए । 

यस बराबरीसँगै नेपाललाई फाइदा पुगेको छ । अब आज राति नेपालले श्रीलङ्कासँग खेल्दै छ । यस खेलमा जित निकालेको खण्डमा नेपाल शीर्ष स्थानमा उक्लिने छ । यसअघि शुक्रबार राति नेपालले घरेलु टिम माल्दिभ्समाथि १–० गोलको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । नेपालको पहिलो जितमा मनिष डाँगीले निर्णायक गोल गरेका थिए । 

नेपाल तीन अङ्कसहित अङ्कतालिकाको दोस्रो स्थानमा छ । अङ्कविहीन श्रीलङ्का भने पाँचौँ स्थानमा छ । उसले पहिलो खेलमा बङ्गलादेशसँग हार बेहोरेको थियो ।