एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले हङकङविरुद्ध बराबरी खेलेको छ । मङ्गलबार भएको खेलको दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

उज्वेकिस्तानस्थित जेएआर स्टेडियममा भएको खेलमा निर्धारित समय दुवै टोलीले गोल गर्न सकेनन् । यससँगै नेपाल एसियन कपमा पुग्न असफल भएको छ । नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ । जित निकाल्न सकेको भए नेपालको आगामी वर्ष भारतमा हुने एसियन कपमा छनोट हुने सम्भावना हुन्थ्यो ।  

एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्न आवश्यक थियो । तथापि नेपालले पहिलो पटक हङकङसँग बराबरी खेलेको हो । सन् १९८६ मा भएको पहिलो भेटमा १–० ले स्तब्ध भएको नेपालले १९८९ मा भएको दोस्रो भेटमा ३–० को हार बेहोरेको थियो ।

बराबरीसँगै समूह एफको नेपालले छनोटमा दुई खेलमा एक अङ्क जोड्यो । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोलले पराजित भएको थियो । हङकङको भने छनोट हुने सम्भावना कायम रहेको छ । हङकङले अब अन्तिम खेलमा फिलिपिन्ससँग खेल्नेछ ।

एसियन कप २० जनवरी २०२२ देखि फेब्रुअरी ६ सम्म भारतमा हुनेछ ।