काठमाडौँ — एएफसी महिला एसियन कप क्वालिफायर्सअन्तर्गत आज सम्पन्न खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्बेकिस्तानस्थित स्टेडियन मजमुआसीमा सम्पन्न खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल २-१ गोलअन्तरले पराजित भएको हो ।

खेलमा नेपालका लागि १० औं मिनेटमा बिमला चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा एक गोलले अघि रहेको नेपाल दोस्रो हाफको अन्तिम समयमा सम्हालिन नसक्दा पराजित बन्यो ।

नेपालले खेलको ८९ औं मिनेट र इन्ज्युरी समयमा गोल ब्यहोरेको थियो । ८९ औं मिनेटमा तहनाइ एन्निस र इन्ज्युरी समयमा विल्सन केमिलीले गोल गरेका थिए । नेपालले अर्को खेलमा मंगलवार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

अहिलेसम्म नेपाल र फिलिपिन्सबीच दुई खेल भएकोमा दुवैमा नेपाल पराजित भएको छ । यसअघि सन् १९९९ मा नेपालले एएफसी वुमेन्स च्याम्पियन्सिपमा फिलिपिन्सको सामना गरेको थियो ।  त्यसमा नेपाल ५–० ले पराजित भएको थियो ।

यससँगै समूह ‘एफ’को नेपालले हारबाट छनोटको सुरुआत गरेको छ । फिलिपिन्सले भने तीन अङ्क जोड्दै शीर्ष स्थान कब्जा गरेको छ ।