बंगलादेशसँगको दोस्रो मैत्रिपूर्ण खेलमा नेपाल गोल रहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोली बंगलादेशले आयोजक नेपाललाई गोल रहित बराबरीमा रोकेको हो । पहिलो खेलमा २–१ ले पराजित भएको बंगलादेशले दोस्रो खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई बराबरीमा रोकेको हो । नेपाललाई दोस्रो पटक गोल गरेको बंगलादेशले नेपाली टोलीलाई दबाब दिएर खेलेको थियो । गोलका लागि निकै संघर्ष गरेको नेपालले बंगलादेशमाथि चढेर खेल्ने प्रयास गरे पनि सफल हुन सकेन । नेपालका अधिकांश प्रयासलाई बंगलादेशको डिफेन्सलाईनले विफल पारेको थियो ।

सुरुआत आक्रामक गरेका दुबै टोलीले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न चुकेका थिए । पानी परेपछि केही चिप्लो भएको मैदानमा दुबै टोलीका बल नियन्त्रणमा केही असहज भएको थियो । यद्यपि सम्हालिएको प्रदर्शन गरेका दुबै टोलीले गोलका लागि केही राम्रा अवसर भने बुनेका थिए । दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशसँग दोस्रो पटक बराबरी खेलेको हो । बंगलादेशविरुद्ध नेपालले खेलेका कुल नौं अन्तराष्ट्रिय खेल मध्येबाट यो दोस्रो बराबरी नतिजा हो । बाँकी सबै सात खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा बंगलादेशले सुरुवातमै गोलको अवसर गुमाएको थियो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नवौं मिनेटमा अमृता जैशीको प्रहार बंगलादेशकी गोलकिपर रुप्ना चक्माले मुश्किलले नियन्त्रणमा लिएर विफल पारेकी थिइन् । ३० औं मिनेटमा बंगलादेशकी श्रीमोती सरकारले प्रहार गरेको बल क्रस बारको माथि लागेर बाहिरिएको थियो । यस्तै खेलको ६७ औं मिनेटमा बंगलादेशकी कप्तान सबिना खातुनको फ्रिकिक नेपालकी गोलकिपर अन्जनाले सहजै नियन्त्रणमा लिन सफल भएकी थिइन् । त्यसपछिको बाँकी समयमा दुबै टोलीले गोलका लागि राम्रा अवसर बनाए पनि सदुपयोग गर्न चुके । खेलमा नेपालकी गीता राना मोस्ट भ्यालुएबल खेलाडी घोषित भईन ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुँदै छ । छनोट खेलमा नेपाल समूह एफमा रहेको छ । नेपाल सम्मिलित समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । समूहको शीर्ष टोली भारतमा हुने प्रतियोगिताका लागि छनोट हुनेछ ।