काठमाडौँ — फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले डेब्यु गरेको खेलमै गोल गरेपछि नेपालले बङ्गलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले बङ्गलादेशी महिला टोलीलाई २–१ ले पराजित गरेको हो । खेलको १३ औँ मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् ।

विमला चौधरीको क्रसलाई सविताले बङ्गलादेशकी गोलरक्षक रुप्ना चक्मा र डिफेन्डरलाई बिट गर्दै हेडर मार्फत बललाई जाली चुमाएकी थिइन् ।

२३ औँ मिनेटमा अर्का डेब्यु मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।

सरु लिम्बुले दिएको चलाखीपूर्ण पासमा प्रीतिले एक डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाहिरबाट गोलरक्षक रुप्ना खातुन अघि बढेको अवस्थामा सहजै फिनिस गरेकी थिइन् ।

४९ औँ मिनेटमा सरु लिम्बुले पेनाल्टी बक्सभित्र मिलाइदिएको पासमा प्रीति राईले वान भर्सेस वानकै अवस्थामा गरेको प्रहारलाई बङ्गलादेशी गोलरक्षक रुप्ना चक्माले पञ्च गर्दै बचाउँदा नेपालले खेलमा थप अग्रता बढाउन सकेन ।

६९औँ मिनेटमा मोसामत सोप्नाले मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउँदै पेनाल्टी बक्सभित्रबाट दिएको क्रसलाई रितु पोर्न चक्माले हेडर प्रयास गरे पनि भेट्न नसक्दा बङ्गलादेशले गोल अन्तर कम गर्न सकेन । ७९औँ मिनेटमा श्रीमोती सरकारको प्रहारलाई नेपाली टोलीकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले पञ्च गर्दै बचाउँदै नेपालको खतरा टारिन् ।

८३ औँ मिनेटमा थोउरा खातुनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन् । उनले ८२ औँ मिनेटमा मोसामत सोप्नाको स्थानमा प्रवेश गरेकी थिइन् । दोस्रो हाफमा नेपालले रक्षात्मक रणनीति अपनाउँदा केही दबाब झेलेको थियो । बङ्गलादेशले पहिलो हाफमा तुलनामा नेपाललाई दबाब दिएको थियो ।

दोस्रो मैत्रीपूर्ण खेल आइतबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप २०२२ छनोट अघि नेपाल र बङ्गलादेशले दुई मैत्रीपूर्ण खेल खेलेको हो । नेपाली महिला टोलीले सन् २०२२ मा भारतमा हुने एसियन कपको छनोटका लागि उज्वेकिस्तानमा दुई खेल खेल्नेछ । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङको सामना गर्नेछ ।