पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको हो । ओमानको अल अमिरात क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्नुपरेको थियो ।

पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनायो । नेपालले १३५ रनको विजयी लक्ष्य ३९ दशमलव तीन ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाए । यस्तै प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले ३० रनको योगदान दिए । नेपाली टोली सङ्कटमा परेको समयमा ब्याटिङ गर्न आएका सोमपाल कामीले ३२ बलमा २२ रन बनाए । यस्तै, कुशल भुर्तेलले १५ रन बनाए ।

बलिङतर्फ पपुवा न्युगिनीका गौडी टोकाले तीन, डामिन राभु र चाड सोपरले दुई/दुई तथा नोसिना पोकानाले एक विकेट लिनुभयो । 


यसअघि नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनीका ब्याटस्म्यानलाई खुलेर खेल्न दिएनन् । उनले कसिलो बलिङ गर्दै चार विकेट लिए ।लामिछानेले १० ओभर बलिङ गर्दै ३५ रन खर्चिए ।

पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाए  । यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, चाड सोपरले अविजित १७, किप्लिन डोरिगाले १५, सेसे बाउले १४ र कप्तान असाद भालाले चार रन मात्र बनाए ।


बलिङतर्फ नेपालका विक्रम सोब र कुशल मल्लले दुई/दुई विकेट लिए । आजको खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीबाट डेब्यू गरेका सोबले पहिलो बलमै विकेट लिए ।

उनले पपुवा न्युगिनीका प्रारम्भिक ब्याटस्म्यान टोनी उरालाई पेभेलियन फर्काएका थिए । यस्तै सोमपाल कामीले एक विकेट लिए ।