काठमाडौँ । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको दुई एकदिवसीय सिरिजको खेलमध्ये पहिले खेल आज हुँदैछ । यस अघि भदौ २० र २३ मा हुने तालिका रहेकोमा त्यसलाई परिवर्तन गरेर पहिलो खेल भदौ २२ र दोस्रो खेल २५ गते गर्ने तालिका सार्वजनिक भएको थियो ।

अहिले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा रहेका छन् । यसैक्रममा पिएनजीसँग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा अल अमरेत क्रिकेट मैदान ओमानमा सुरु हुनेछ । नेपालले अन्तिम ओडिआई खेल आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु मैदान टियुमा अमेरिकासँग खेलेको थियो ।

नेपालले अन्तिम पटक २०७६ माघ २९ मा अमेरिकालाई ३५ रनमा अलआउट गर्दै ओडिआई इतिहासकै सर्वाधिक कम योगफलको कीर्तिमान बराबर गरेको थियो । त्यसपछि नेपालले ओडिआई खेल खेलेको छैन । उक्त सिरिजपछि अर्को महिना थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० एसिया छनोट खेलेको थियो । थाइल्यान्ड भ्रमणपछि कोरोना महामारीको कारण नेपाली क्रिकेट ठप्प भएको थियो ।

नेपालले कोरोना महामारीपछि अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा १५ महिनापछि नेदरल्यान्ड्स र मलेसियासँग टि२० आई त्रिकोणात्मक सिरिज टियु मैदानमा गत वैशाखमा खेलेको थियो । उक्त त्रिकोणात्मक सिरिजमा नेपालले ब्याटिङमा उत्कृष्ट प्रदर्शनका साथ उपाधि जितेको थियो ।