नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आज हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल अपराह्न ५ः३० बजेबाट सुरु हुनेछ ।

यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ गोलको बराबरी खेलेका थिए । जसमा नेपालका लागि अञ्जन विष्ट तथा भारतका लागि अनिरुद्ध थापाले गोल गरेका थिए ।

नेपाल र भारतले माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलिरहेका छन् । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म आयोजना हुने तालिका छ। 

नेपाल र भारत २१औँ पटक आमने–सामने हुन लागेका हुन् । यसअघिका २० खेलमा भारतले १३ पटक जित हात पारेको छ भने नेपालले दुई खेल जित्दा पाँच खेल बराबरीमा सकिएको छ ।