माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले आज मैत्रीपूर्ण फुटबल खेल खेल्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

हालसम्म भारतसितको फितलो प्रदर्शनका बाबजुद पनि नेपाली टोली जितको दाउमा छ । घरेलु मैदानका साथै घरेलु दर्शकलाई जितका साथ भरपुर आनन्द दिने लक्ष्यका साथ नेपाली टोली मैदानमा प्रवेश गर्ने छ । तथापि, नेपाली टोलीका लागि टाउको दुखाइ भारतीय कप्तान सुनिल क्षेत्री बनेका छन् । नेपाली मुलका ३६ वर्षीय क्षेत्री विश्वमै नाम कमाएका कीर्तिमानी खेलाडी हुन् ।

क्षेत्रीले ११८ खेलमा ७४ गोल गरेका छन् । त्यसैले नेपाली टोलीको लक्ष्य क्षेत्रीलाई रोक्नेमा बढी केन्द्रित देखिन्छ । क्षेत्रीले नेपालसितका आठ खेलमा पाँच गोल गरेका छन् ।

भारतीय टोली क्षेत्रीका साथै अनिरुध थापा, ब्रान्डन फर्नान्डज, प्रितम कोटललगायत खेलाडीमाथि निर्भर रहने छ भने नेपालका लागि सन्तोष तामाङ, अनन्त तामाङ, पुजन उपरकोटी, अन्जन विष्टलगायत भरपर्दा खेलाडी हुन् । नेपालसित किरणकुमार चेम्जोङजस्ता दक्षिण एसियाकै उत्कृष्ट गोलकिपर छन् । त्यसैले नेपाली टोलीको मनोबल उच्च छ । 

यस्तो छ भारतविरुद्ध नेपालको इतिहास

दोस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा नेपाल र भारतबीच पहिलो पटक फुटबलमा सन् १९८५ डिसेम्बर २१ मा प्रतिस्पर्धा भएको थियो । बङ्गलादेशको ढाकास्थित बंगबन्धु रङ्गशालामा भएको उक्त खेलमा भारतले नेपाललाई २-० गोलअन्तरले पराजित गरेको थियो । नेपाली टोलीको सुरुआत सुखद् रहेन । त्यसयता नेपाल र भारतबीच फुटबलमा १९ पटक भिडन्त भएको छ । 

भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटी मात्र जित निकाल्न सक्यो । तीन खेलमा दुवै टोलीले बराबरी खेलेका थिए । समग्रमा नेपाली टोली भारतसामु निरिह सावित भएको छ । विश्व फुटबल महासङ्घ (फिफा) बरियताअनुसार पनि नेपालभन्दा भारत फुटबलमा निकै अब्बल देखिन्छ । फिफा बरियताअनुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा छ ।   

नेपाल र भारतबीच सन् १९८७ डिसेम्बर २३ मा दोस्रो दक्षिण एसियाली खेलकुदमा दोस्रो पटक प्रतिस्पर्धा भएको थियो । भारतको कोलकातामा भएको उक्त खेलमा भारतले नेपाललाई २-० गोलअन्तरले हराएको थियो । सन् १९८९ अक्टोबर २३ मा पाकिस्तानमा भएको साफ खेलमा नेपाल भारतसित २-१ गोलले हार बेहोर्न पुग्यो । उक्त खेलमा नेपालका लागि मणि शाहले पहिलो गोल गरेका थिए ।


यस्तै सन् १९९३ जुलाई १९ मा पाकिस्तानको लाहोरमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई १-० गोलले हराएको थियो । सन् १९९३ डिसेम्बर २६ मा बङ्गलादेशको ढाकामा सम्पन्न दक्षिण एसियाली खेलकुदमा नेपालले भारतलाई टाइब्रकरमा ४-३ गोलले जितेको थियो । निर्धारित र अतिरिक्त समयमा पनि दुवै टोलीबाट दुई/दुई गोल मात्र हुन सकेको थियो । नेपालले भारतलाई पहिलो पटक हराउन सफल भएको थियो । नेपालका तर्फबाट उमेश प्रधान र मणि शाहले गोल गर्नुभएको थियो । त्यसअघिको सेमिफाइनल खेलमा दुवै टोलीले दुई/दुई गोलको बराबरी खेलेको थियो । 


यसैगरी, सन् १९९५ डिसेम्बर २५ मा भारतको मद्रासमा भएको साफ खेलमा भारतले नेपाललाई ३-० गोलले पराजित गरेको थियो भने सन् १९९८ डिसेम्बर ५ मा थाइलेण्डको बैंककमा भएको एसियाली खेलकुदमा भारतले नेपाललाई १-० गोलले हराएको थियो । सन् १९९९ सेप्टेम्बर ३० मा काठमाडौँमा भएको आठौँ दक्षिण एसियाली खेलकुदमा भारतले नेपाललाई ४-० गोलअन्तरले हराएको थियो । सन् २००५ डिसेम्बर १८ मा पाकिस्तानको कराँचीमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई २-१ गोलले हराएको थियो । सो खेलमा नेपालका लागि बसन्त थापाले गोल गरेका थिए

यस्तै सन् २००६ अप्रिल ९ मा बङ्गलादेशमा भएको एएफसी च्यालेन्ज कपमा भारतलाई नेपालले ३-० गोलले हराएको थियो । नेपालका लागि प्रदीप महर्जनले दुई तथा वसन्त थापाले एक गोल गर्नुभएको थियो । सन् २००८ जुन ३ मा माल्दिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई ४-० गोलले तथा सन् २००९ डिसेम्बर ७ मा बङ्गलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई १-० गोलले पराजित गरेको तथ्याङ्क छ । 


यस्तै सन् २०१२ अगष्ट ५ मा भारतको नयाँ दिल्लीमा भएको नेहरु कपमा दुवै देशले गोलरहित बराबरी खेलेका थिए । सन् २०१३ सेप्टेम्बर पाँचमा काठमाडौँमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले भारतलाई २-१ गोलले हराएको थियो । उक्त खेलमा जुमानु राई र अनिल गुरुङले गोल गर्नुभएको थियो । सन् २०१३ नोभेम्बर १९ मा भारतको पश्चिम बंगालको सिलिगुढीमा आयोजना गरिएको मैत्रीपूणर् खेलमा भारतले नेपाललाई २-० गोलले पराजित गरेको थियो । 

यसैगरी सन् २०१५ मार्च १७ मा काठमाडौँमा सम्पन्न खेलमा नेपालले भारतसित गोलरहित बराबरी खेलेको थियो भने सन् २०१५ अगष्ट ३१ मा भारतको पुनामा भएको मैत्रीपूणर् खेलमा पनि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यस्तै सन् २०१५ डिसेम्बर २७ मा भारतको त्रिवेन्द्रममा सम्पन्न साफ च्याम्पियनसिपमा भारत ४-१ गोलले विजयी भएको थियो । उक्त खेलमा नेपालका लागि विमल घर्तीमगरले गोल गर्नुभएको थियो । सन् २०१७ जुन सातमा भारतको मुम्बईमा भएको मैत्रीपूणर् खेलमा भारतले नेपाललाई २-० गोल अन्तरले हराएको थियो ।  नेपाली टोली भारतसित ६ वर्षपछि भिड्दै छ । भारतले नेपालको गोलपोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ ।