सन् २०२२ मा कतारमा हुने विश्वकपको छनोट खेलमा पोर्चुगलले आयरल्यान्डमाथि जित निकाल्दा २ गोल गरेका क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रि फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बुधबार राति विश्वकपको युरापियन छनोटतर्फ पोर्चुगलले आयरल्यान्डमाथि २–१ गोलको जित निकालेको थियो ।

जसमा उनले  खेलको ८९औँ मिनेट र  इन्ज्युरी समयमा दोस्रो गोल गरे । यी दुई गोलसँगै रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ता बने । यी दुई गोलसँगै उनले राष्ट्रिय टोलीका लागि एक सय ११औँ गोल गरे । रोनाल्डोले एक सय ८० खेल खेलेका छन् ।

उनले इरानका अली दाईलाई दुई गोलले उछिने । सन् १९९३ देखि २००६ बीच इरानका अली दाइले कीर्तिमानी एक सय नौ गोल गरेका थिए ।


३६ वर्षीय रोनाल्डोले विश्वकप छनोटमा ३३ गोल गरेका छन् भने युरोकप छनोट ३१ गोल गरेका छन् । यस्तै, अन्तर्राष्ट्रिय मेत्रीपूर्ण खेलमा १९, युरो कपमा १४, विश्वकपमा ७, युइएफए नेसन्स लिगमा ५ र कन्फेडेरेन कपमा: २ गोल गरेका छन् ।