यसै समर बार्सिलोना छोडेर फ्रान्सको राजधानी बसाइँ सरेका लियोनल मेस्सीको डेब्यु खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सहज जित निकालेको छ । फ्रान्सेली लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले रेइम्समाथि २–० गोलको जित निकालेको हो ।

लामो प्रतीक्षापछि मेस्सीले पिएसजीबाट डेब्यु गरेका थिए । प्रशिक्षक माैरिसियो पाेचेटिनोले उनलाई उक्त खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गराएका थिए ।

मेस्सीले ६६औँ मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका उनी गोलविहीन बने । छोटो समयका लागि मैदान उत्रिएका कारण गोल गर्न सकेनन् । पिएसजीको जितमा भने किलियन एम्बाप्पेले दुवै गोल गरे । 

खेलको १६औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा एम्बाप्पले दोस्रो गोल गर्दै पिएसजीलाई २–० गोलले जिताए ।

यस जितसँगै पिएसजीले चार खेलबाट १२ अङ्क जोडेको छ । ऊ अङ्क तालिकाको शीर्ष स्थानमा छ । रेइम्स भने ३ अङ्कसहित १७औँ स्थानमा छ ।

पिएसजीबाट डेब्यु गरेसँगै मेस्सी अब स्वदेश फर्किनेछन् । अर्जेन्टिन्टनाले विश्वकपको छनाेट खेलअन्तर्गत तीन राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट खेलका लागि उनी टोलीमा परेका छन् ।

विश्वकपको छनोटअन्तर्गत अर्जेन्टिनाले भेनेज्वला, ब्राजिल र बोलिभियासँग खेल्ने तालिका छ । अर्जेन्टिनाले ३ सेप्टेम्बरमा भेनेज्वलासँग खेल्नेछ भने ५ सेप्टेम्बरमा ब्राजिलको सामना गर्नेछ । यस्तै, १० सेप्टेम्बरमा बोलिभियासँग खेल्नेछ ।