विराटनगर–पूर्व प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ मोरङको कटहरीमा जारी कृषि एक्स्पो अवलोकन गरी कृषि क्षेत्रको प्रवर्धनबाट नै देश विकासले गति लिन सक्ने बताएका छन् ।

शनिबार विराटनगर आएका प्रचण्ड नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले कटहरीस्थित कृषि थोक बजारमा आयोजना गरेको एक्स्पो अवलोकन गर्न पुगेका थिए । प्रचण्डलाई महासंघ कोसी अध्यक्ष राजेन्द्र राउतसहित पदाधिकारीले स्वागत गरेका थिए । उनले एक्स्पोमा राखिएका स्टलका बारेमा जानकारी लिँदै महासंघ प्रतिनिधिहरुसँग छलफल गरेका थिए ।

महासंघका अध्यक्ष राउतले कोसी प्रदेशका किसान, उद्यमी र लगानीकर्तालाई एकै थलोमा भेला पारिएको पूर्वप्रधानमन्त्रीलाई जानकारी गराएका थिए । राउतले भने,कृषि क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय खोज्न र अबका योजना पहिल्याउन एक्स्पो सहयोगी हुनेछ ।”

प्रचण्डले यस किसिमका आयोजनाले कृषि क्षेत्रको उन्नयनका लागि सहयोग पुग्ने बताउँदै कृषिमा आश्रित किसानको जीवनस्तर सुधार गर्न यान्त्रीकरण र आधुनिक प्रविधि अपनाउन आवश्यक रहेको सुनाए । उनले भने,हामी सरकारमा छँदा कृषि क्षेत्रको समग्र विकासका लागि प्रयास गरेका हौं । अब पनि प्रयास गरिरहने छौं ।” त्यस अवसरमा महासंघ अध्यक्ष राउतसहित पदाधिकारीले मायाको चिनो प्रदान गरेका थिए