विराटनगर–नेपालमा गत आर्थिक बर्षमा विद्युतिय सवारी उत्पादन गर्ने ६ वटा उद्योग दर्ता भएका छन । तीनले चार अर्ब ६२ करोग लगानी गर्दैछन । त्यसमध्येको सबैभन्दा बढी लगानी भएको र चीनको कम्पनी संग लिखित सम्झौता गरेर काम अघि बढाएको कोशी एनके मोटर्स प्रालिले एक बर्षभित्रमा विद्युतिय सवारीको उत्पादन थाल्ने भएको हो । 

एनके मोटर्सले विराटनगरसंग सीमा जोडिएको बुढीगंगा गाउँपालिकामा १५ विगा जमिनमा उद्योगको नक्सा पास गर्ने कार्यसम्पन्न गरेको छ भने असोज महिनादेखी उद्योगको भवन निर्माणको थालनी हुने र एक बर्षभित्रमा नै उद्योग संचालनमा आउने कोशी एनके मोटर्सका अध्यक्ष टिकाराम पुरीले जानकारी दिए । पुरीका अनुसार नेपालमै उत्पादन हुने विद्युतिय सवारी अन्यको तुलनामा ३० प्रतिशत सस्तो पर्नेछ । 

बैशाख १७ गते  तीन अर्ब रुपैयाँको लगानीमा कोशी प्रदेशमा चारपांग्रे विद्युतीय सवारीसाधन उत्पादन गर्ने गरि कोशी एनके मोटर्स प्रालि र चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेड बीच सम्झौता भएपछि कोशी प्रदेशबाट विद्युतिय सवारी उत्पादन सुरु हुने भएको हो । पहिले विद्युतिय बस, माइक्रो बस, पिकअप भ्यान र कारको उत्पादन थालिने छ । चीनका विभिन्न अन्य कम्पनीहरुसंगपनि पाट्र्सको सम्झौता भइसकेको छ । 

यस अघि हुलास कम्पनीको मुस्ताङ म्याक्सले मेडइन नेपाल भनेर चारपाङ्ग्रे डिजलबाट चल्ने सवारी उत्पादन गरेपनि मेडइन नेपाल लेखिएर विद्युतिय सवारीमा आफ्नै कम्पनीको उत्पादन पहिले बजारमा आउनेमा पुरी विश्वस्त देखिए ।  

बैशाकमा चीनको फुजियन प्रान्तमा रहेको उक्त कम्पनीसँग सम्झौता गरिएको हो । सम्झौतापत्रमा कोशी एन के मोटर्सका अध्यक्ष पुरी र स्यामनका तर्फबाट प्रबन्ध निर्देशकले हस्ताक्षर गरेका छन् । गाडी एसेम्बल गर्ने कारखाना मोरङको बुढीगंगा गाउँपालिकामा १५ बिघा क्षेत्रफलमा सञ्चालन हुनेछ ।

सम्झौताअनुसार सबै काम भएमा एक वर्षपछि उक्त सवारीसाधनको उत्पादन थाल्न सकिने कोशी एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीले बताए । पहिलो चरणमा स्कूल बस उत्पादन गरिनेछ ।

कम्पनीमा शुरूआती चरणमा ३ अर्ब रुपैयाँ लगानी हुने अध्यक्ष पुरीले जानकारी दिएका छन् । उनका अनुसार कम्पनीले विद्यार्थी बससँगै क्रमशस् सबै किसिमका चारपांग्रे सवारीसाधन उत्पादन गर्नेछ । ‘कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महीना ७५० ओटा गाडी उत्पादन गर्नेछ,’ पुरीले भने । 

स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीले चारपांग्रे सवारी र त्यसका पाट्र्सको उत्पादन गर्दै आएको छ । उक्त कम्पनीसँगको सहकार्यले नेपालमै गुणस्तरीय र आधुनिक विद्युतीय सवारीसाधन उत्पादन तथा बजारीकरण गर्न मद्दत पुग्ने विश्वास अध्यक्ष पुरीले गरेका छन् ।

चिनियाँ कम्पनीसँगको सहकार्यमा पहिलो चरणमा २२ सीटे अत्याधुनिक स्कूल बस उत्पादन गर्ने तयारी रहेको अध्यक्ष पुरीले जानकारी दिए । मागको आधारमा शुरूमा करीब ५ सय थान विद्युतीय स्कूल बस उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । कम्पनीले स्कूल बससहित पब्लिक बस, माइक्रो बस र विद्युतीय कारसमेत उत्पादन गर्ने पुरीले बताए । कम्पनीले उत्पादन गर्ने विद्युतीय गाडी पेट्रोलियम पदार्थबाट चल्नेभन्दा ३० प्रतिशत सस्तो पर्ने उनको भनाइ छ ।

आर्थिक बर्ष २०८०÷२०८१ मा चार अर्ब ६२ करोड लगानी गर्ने गरि छ वटा विद्युतिय सवारी एसेम्बल गरि उत्पादन गर्ने कम्पनी उद्योग विभागमा दर्ता भएका छन । जसमा कोशी एनके मोटर्स तीन अर्ब, एशिया भेहिकल्स ८६ करोड ८० लाख, नेपाल जियाक्सिङ न्यु इनर्जी ४ करोड, जेम्स ग्रिन इलेक्ट्रो मोबिलिटी २८ करोड, नेपाल कोरियन ई–भेहिकल ४० करोड र कर्ल इलेक्ट्रिक अटो २ करोड ७५ लाखमा स्थापना गर्ने गरि दर्ता गरिएका हुन । 

अहिलेसम्म दुईपांग्रे र चारपांग्रे सवारीसाधनका गरी आठवटा एसेम्ब्ली प्लान्ट सञ्चालनमा आइसकेका छन । योबाहेक अढाई दर्जन एसेम्ब्ली प्लान्ट सञ्चालनका लागि दर्ता भएका छन । नवलपरासीको रामग्राममा बजाजको एसेम्ब्ली प्लान्ट सञ्चालनमा आएको सात बर्ष भयो । त्यसयता यात्री, टिभिएस, रोयल इन्फिल्ड, यामाहा, हिरो, क्रस एक्स ‘सिएक्स’ र हुन्डाईको एसेम्ब्ली प्लान्ट खुलिसकेका छन । जसमध्ये सातवटा दुईपांग्रे मोटरसाइकल र स्कुटर र हुन्डाईको चारपांग्रे कारप्लान्ट रहेका छन । यात्री र क्रस एक्स देशमै डिजाइन गरेर उत्पादन भइरहेको स्वदेशी ब्रान्ड हो । 

हालै मात्र यात्रीसँग चर्चित व्यावसायिक घराना सिप्रदी समूहले साझेदारी गर्ने सम्झौता गरेको छ । भारतीय टाटा गाडीको विक्रेता सिप्रदीको प्रवेशसँगै यात्रीले विद्युतीय मोटरसाइकलसँगै स्कुटर पनि उत्पादन गर्ने लक्ष्य लिएको छ ।