विराटनगर–पूर्वमुख्यमन्त्री केदार कार्कीले बुधबारदेखी कोशी प्रदेशको प्रदेशसभा अगाडी आमरण अनसन बस्ने घोषणा गरेका छन । उनले आफू मूख्यमन्त्री हुदा लागु गरेको स्वास्थ्य र विकासका कार्यक्रमबाट एक रुपैयाँ लाभ लिएको प्रमाणीत भए जेल जान तयार रहेको बताएका छन ।
उनले आफ्नो पालामा घोषण भएका लोकप्रिय कार्यक्रमबाट आत्तिएको अहिलेको सरकारले ती सबै कार्यक्र विफल पार्ने योजनामा लागेको कारण जनताको जीवनसंग जोडिएका विकासलगायतका कार्यक्रमहरुमा पुनः बजेटको व्यवस्था नभएसम्म आमरण अनसन बस्ने घोषणा गरेका छन ।
तल्लो स्तरका जनताको जीवनसंग जोडिएको स्वास्थ्य उपचार, महिला स्वास्थ्य स्वयम सेविकाको भत्ता कटौति र विराटनगरको विकासको कोशेढुंगाको रुपमा रहेको केसेलिया करिडोरको अवधारणालाई असफल बनाउन अहिलेको सरकार लागेकोले त्यसको विरोध गर्दै ती लगायतका अन्य बिषयहरुमा बजेटको ब्यावस्था गराउन आफूले आमरण अनसन बस्ने आइतबार पत्रकार भेटघाटमा घोषणा गरेका हुन ।
१० बर्ष मुनिका बालबालिकाहरुले सुविधा सम्पन्न अस्पतालहरुमा निशुल्क उपचार गराउन पाउने ब्यावस्था हटाइएको, विराटनगरको विकाशको मेरुदण्ड केसेलिया करिडोरको बजेट रोकेको, स्वास्थ्य स्वयंसेविकाको थप गरिएको मासिक भत्ता कटौति गरिएको, शैलेजा आचार्य मुटुरोग अस्पताल संचालनमा अवरोध गरेको लगायतका माग राखेर पूर्वमुख्यमन्त्री केदार कार्की कोशी प्रदेशसभा अगाडी बुधबारदेखी आमरण अनसनमा बस्ने घोषणा गरेका हुन ।
कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीलाई ज्ञापनपत्र बुझाउदै कटौति गरिएका कार्यक्रमहरुमा बजेटको व्यावस्था र कार्यान्वय नगरिए ४८ घण्टाभित्र प्रदेशसभा अघि आमरण अनसन बस्ने चेतावनी दिईसकेको छन । उनले आफूले घोषणा गरेको लोकप्रिय कार्यक्रमबाट कोशी प्रदेश सरकार अत्तालिएको र त्यस्ता कार्यक्रम कटौति गर्न लागि परेको बताउदै आफूले ब्यक्तीगत लाभका लागि यी कार्यक्रमहरु लागु गरेको भए या एक रुपैयाँ कमिसन वा लाभ लिएको प्रमाणीत भए आफू जेल जान तयार रहेको समेत बताए ।
सरकारले जनतासंग कर लिएपछि जनताप्रति उत्तरदायि हुनुपर्ने उल्लेख गर्दै पूर्वमुख्यमन्त्री कार्कीले जनताका छोराछोरीलाई छात्राबृत्तीमा चिकित्सक र कृषि प्राविधिक अध्ययन गराउने बिषयलाई समेत सरकारले कार्यक्रमबाट हटाएको उल्लेख गरे ।
उनले बजेट कटौति र कार्यक्रम कटौति गरिएको बिषयमा प्रतिप्रश्न गर्दै भने‘बार्षिक १५ करोड खर्चगर्दा प्रदेशभरिका १० बर्ष मुनिका बालबालिकाले निशुल्क रुपमा राम्रा निजी अस्पतालहरुमा उपचार गाउन पाउछन भने प्रदेश सरकारको के विग्रीयो ?’
केसेलिया करिडोर बन्दा स्थानिय गरिब जनताको जमिन भाउ बढ्छ र विराटनगरको डुवानको समस्या समाधान हुन्छ भने प्रदेश सरकारले त्यस्ता कार्यक्रम किन नगर्ने प्रश्न गर्दै कार्कीले भने ‘अहिलेको सरकारले कार्यकर्ता पोस्नका लागि ५ हजार रुपैयाँसम्म बजेट बिनियोजन गरेको छ ।’
गरिब जनताको पक्षमा काम गर्ने पार्टी भनिने एमाले र माओवादी केन्द्रको मिलिजुली सरकारले जनताको प्रत्यक्ष सरोकार भएको बजेट र कार्यक्रममा कैंची चलाएर जनतामारा काम गरेको आरोप कार्कीले लगाए । सरकार गाडी किन्ने, उपकरण किन्ने, भत्ता बढाउने काममा निकै उत्साहित भएर लागेको तर जनताको गाँस, वास, कपाससंग जोडिएको कार्यक्रमलाई उपेक्षा गरिरहेको उनले बताए ।
कोशी प्रदेश भरिका नेपाली कांग्रेसका जिल्ला सभापतिहरु, नगर सभापति, प्रदेश सभापति र केन्द्रिय सभापतिलाई समेत लिखित रुपमा जानकारी गराएर एैक्यबद्धता सहित आमरण अनसनको तयारी गरेको उनले जानकारी दिए । उनले भने‘आफ्नो लागि नभएर जनताका लागि आमरण अनसन बस्न लागेको हुँ, मृत्यू भएपनि जनताका लागि हाँसीहाँसी मर्न तयार छु ।’