विराटनगर–मोरङ उद्योग व्यापार संघको महिला समितिले आयोजना गरेको नारी उत्सव मेलामा दुई दिनमा २५ हजारले अवलोकन गरेका छन । ६० वटा स्टलमा दुईदिनमा ४५ लाखको कारोबार भएको छ ।
तीजलाई लक्ष गरेर विराटनगर–९को सीटी प्यालेसमा आयोजना गरिएको उत्सव आइतबार सकिदैछ । एसी र नन एसी गरेर दुईस्थानमा रहेका स्टलहरुमा कपडा र गहनाका पसलहरुमा अवलोकनकर्ताहरुको भीड लागेको थियो । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेपछि औपचारिकरुपमा उत्सव सुरु भएको थियो ।
महिला उधमीलाई प्राथमिकतामा राखेर उनीहरुले नै उत्पादन तथा प्रवर्धन गरेको व्यवसायलाई नारी उत्सव मेलामा स्टल प्रदान गरिएको थियो । फुड आइटमका अलावा स्थानिय उद्योगहरुबाट उत्पादीत बस्तु, घरेलु उद्योगहरुबाट उत्पादन गरिएका बस्तुहरु, रेडिमेड गहना, कपडा, फेन्सी आइटमहरुका स्टल रहेका थिए । ग्रामीण क्षेत्रमा उत्पादीत अग्र्यानिक मह, अचार लगायतको उत्पादनमा समेत अवलोकनकर्ताको भिड लागेको थियो ।
मेला संयोजक श्रृती शर्माले सोचेको भन्दा पनि राम्रोसंग नारी उत्सव सफल भएको बताइन । उनले स्थानिय महिला तथा यूवाहरुको सहभागिताले नै मेला सफल भएको उल्लेख गरिन । साँझको सांगितिक कार्यक्रम लगायत व्यक्तीत्व झल्काउने प्रतियोगिताले पनि मेलामा उत्साह भरेको उनले उल्लेख गरिन । मेलाको समय बढाउने सहभागिहरुले दबाब दिएपनि निर्धारित समयमा नै समापन गरिने उनले उल्लेख गरिन ।
‘नारी उत्सव–२०८१ व्यापार मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री हिक्कमत कार्कीले महिला उद्यामीहरुलाई अघि बढाउन आवश्यक नीति ल्याउने प्रतिवद्धता व्यक्त गरे । महिलालाई व्यापार, व्यवसाय, उद्यम क्षेत्रमा सहभागिता गराएमा समाज र मुलुकको आर्थिक समृद्धि हुने उल्लेख गर्दै उनले प्रदेश सरकारले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नलाई नै गएको असारमा १४ जिल्लाका महिलालाई नगद सहित सम्मान गरेको स्मरण गरे ।