विराटनगर–मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले भाद्र १४ देखि १६ गतेसम्म विराटनगरमा ‘नारी उत्सव’को आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेपछि शुभारम्भ हुदैछ । 

मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिका संयोजक श्रृती शर्माले विराटनगर–९ स्थित सिटी प्यालेसमा नारी उत्सवको आयोजना गरिएको जानकारी दिइन । उनले उक्त उत्सवमा २० हजारले अवलोकन गर्ने र ५० लाख बराबरको कारोवार समेत हुने जानकारी दिइन । उक्त उत्सवमा ६० वटा महिला उद्यमीका स्टलसमेत रहेने छन । 

१२ देखि १५ लाख रुपैयाँ खर्चेर आयोजना गर्न लागिएको नारी उत्सवमा १५ देखि २० हजार नारीले तीजको समयमा नारी उत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको संयोजक शर्माले बताइन । नारी उत्सवमा ४० देखि ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए । नारी उत्सव आयोजना स्थल सिटी प्यालेस होटल एण्ड रिसोर्टमा कृषि, फुड, लत्ताकपडा र कस्मेटिकका गरी ६० स्टल रहने र ती स्टलबाट तीजको समयमा नारीलाई चाहिने सम्पूर्ण सामग्री बिक्री हुने अध्यक्ष राठीले बताए ।

नारी उत्सवको तीनै दिन बिहान १० बजेदेखि राती ८ बजेसम्म सिटी प्यालेस होटल एण्ड रिसोर्टको स्टलबाट सामान बिक्री हुनेछ । स्टल प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले आयोजना गर्न लागेको नारी उत्सवमा मिस नेपाल  सुश्री आश्माकुमारी केसी र मिस नेपाल अर्थ सुश्री सुमना केसीको प्रस्तुती रहने छ । 

संघका निवर्तमान अध्यक्ष नविन रिजालले पहाडी र ग्रामीण भेगका महिला उद्यमीहरुको समेत सहभागिता रहने उत्सवमा महिला उद्यमीले उत्पादन गरेको बस्तुको बजारीकरणमा आफूहरुले सहयोग गर्ने र त्यसले दीर्घकालिन बजारको निर्माण गर्ने जानकारी दिए । अहिले सानो दायरामा उत्पादन गरिरहेका महिला उद्यमीका उत्पादनको माग बढ्ने र त्यसले उत्पादनको दायरा समेत बढाउने बताए ।