विराटनगर–सेनिटरी प्याड, फलाम, पामतेल उत्पादन गर्ने उद्योगमा बजेटमा भएको ब्यवस्थाको कारण उत्पन्न हुने समस्याको समाधानका लागि आफुले पहल गर्ने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बढुले बताएका छन ।

उद्योग संगठन मोरङको ४९ औं बार्षिक साधरण सभालाई सम्बोधन गर्दै उद्योगी व्यवसायीले बजेटको कारण सृजित समस्या राखेपछि त्यसमा जवाफ दिने क्रममा मन्त्री बढुले बजेट पास भइनसकेको र संसदमा छलफलमा रहेकाले सेनिटरी प्याड, फलाम, पामतेल उद्योगहरुको समस्याका बारेमा पनि छलफल हुने र त्यसको निकास त्यहाबाट निस्कने उनले बताए । 

दाल चामल मात्रै होइन तरकारी र अचार समेत आयात भइरहेको प्रति मन्त्री बढुले आश्चर्य प्रकट गर्दै नीजि क्षेत्रसंगको सहकार्यमा सरकार आत्मनिर्भरताका लागि अघि बढ्न तयार रहेको बताउदै यसैको प्रारम्भ स्वरुप प्रधानमन्त्री राष्ट्रिय उत्पादन तथा उपभोग अभिबृद्धि कार्यक्रम मार्फत सरकार पनि उत्पादनमा आत्मनिर्भर हुनपर्छ भनेर लागि परेको बताए । उनले १० बर्षे अभियानका साथ सरकार अघि बढ्दै गएको र एउटा मात्रै उत्पादनमा पनि आत्मनिर्भर हुने प्रयास गर्नु पर्ने उल्लेख गरे ।  

पछिल्लो बजेटको ब्यवस्था प्रति उद्योगीहरुको असन्तुष्टिबारे बढुले भने‘सरकारले नीति त ल्यायो तर अहिले केही त्रुटीहरु देखिएका छन हामी छलफल गरेर निकर्षमा पुग्न सक्छौं । मुलुकको उत्पादन बढाउने लक्षमा नीजि क्षेत्रलाई कसरी साथमा लिएर जान सकिन्छ भनेर हामी लागि रहेका छौं । उत्पादन लागतमा कमी ल्याउने कुरा, उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्ने कुरा र गुणस्तरिय उत्पादन बढाउने कुरामा हामी केन्द्रित हुनुपर्छ सहकार्य गरौं हामी तयार छौं ।’

उद्योग संगठन मोरङका अध्यक्ष सुयसराज प्याकुरेले पाम आयाल खरिद गर्न विस्कुट चाउचाउ उद्योगलाई बाहिरबाट ल्याउन नभइ यहिका पाम उत्पादन गर्ने उद्योगहरुबाट सहुलियतमा उपलब्ध गराउन सकिने अवस्था रहेको तथ्यांक प्रस्तुत गरे । त्यस्तै उनले सेनिटरी उद्योग, फलाम उद्योग र बनस्पती तेल उद्योगका समस्यालाई सम्बोधन गरिदिन मन्त्रीलाई आग्रह गरे । 

अध्यक्ष प्याकुरेलले यो पटकको बजेट कोशी तरेर प्रदेश १ सम्म आइनपुगेको बताउदै क्षेत्रीय स्तरको विमानस्थलका लागि बजेट नछुट्टिएको, अन्तराष्ट्रिय स्तरको प्रर्दशनी स्थल, सुनसरी मोरङ औद्योगिक क्षेत्रमा स्पेशल इकोनोमिक जोन बनाउने कुरा जहिले पनि अपुरो रहेको बताए । 

मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजाल २० औं बर्षदेखी एउटै खालका मागहरु उठाउदै आएका छौं तर त्यसको कार्यान्वयन नभएको गुनासो गरे । जोगवनी किमाथांका नाकासम्मको सडक, विमानस्थलको स्तरबृद्धि, प्रर्दशनीस्थल, सेज लगायतका मागमा सरकार संवेदनशील नबनेको आरोप उनले लगाए । केही समिति उद्योगीलाई अझ बढी कमाउने अवसर दिनेगरि बजेट आएको प्रति उनले आपत्ती प्रकट गरे । केही आयात कर्ता र केही उद्योगीलाई मात्र फाइदा पुग्ने र धेरै उद्योगी ब्यवसायीलाई धान्ने नसक्ने खाले सरकारको नीति आएकोमा दुख ब्यक्त गर्दै उनले सरकारले सबैलाई फाइदा पुग्नेगरि नीतिमा सुधार गर्नु पर्ने माग उनले गरे । 

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरे सरकारले सेनिटरी प्याड, फलाम उद्योग, पाम तेल उद्योग, विद्युतमा गरेको छुटको व्यवस्था नीतिगत भ्रष्टचार हो । यसलाई सच्याउन घिमिरेले आग्रह गर्दै सबैलाई समान र मान्य हुने नीति लिन मन्त्री बढुलाई सुझाव दिए । 

उत्पादन मंहगो पर्ने र आयात गर्दा सस्तो पर्ने भएकाले आयात बढेकाले सरकारले उद्योगहरुलाई अनुदान र सुविधा दिएर यहिनै सस्तो उत्पादन गरेर आयात प्रतिस्थापना गर्न नेपाली कांग्रेस मोरङका सभापति डिक बहादुर लिम्बुले आग्रह गरे । 

प्रदेश १ का उद्योग श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङमाङ,  पूर्व बाणिज्य सचिव पुरुषोत्तम ओझा, उद्योग संगठन मोरङका पूर्व अध्यक्ष किशोर प्रधान, नेपाल उद्योग बाणिज्य महासंघ उद्योग समितिका सभापति भरतराज आचार्य लगायतले निकासी बृद्धि गरि मुलुकको ब्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिनेबारेमा बिचार ब्यक्त गरेका थिए ।