अर्जेन्टिना एवं फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राईकर लियोनल मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन डी ओर अवार्ड जितेका छन् । पेरिसमा सोमबार राति आयोजित भब्य समारोहबीच मेस्सीलाई अवार्ड प्रदान गरिएको हो ।

सन् २०२१ को यस अवार्ड जित्ने क्रममा मेस्सीले पोल्याण्ड एवं जर्मन क्लब बायर्न म्युनिखका स्ट्राईकर रोबर्ट लेवान्डोस्कीलाई पछि पारे । मेस्सीले ६१३ अंक प्राप्त गर्दा दोस्रो स्थानमा रहनुभएको लेवान्डोस्कीले ५८० र तेस्रो स्थानमा रहेका इटालीका जर्गिन्होले ४६० अंक प्राप्त गरेका थिए । लेवान्डोवस्कीलाई पहिलो पटक समावेश गरिएको सर्वोत्कृष्ट स्ट्राईकरको अवार्ड प्रदान गरियो ।

यसअघि शीर्ष तीनमा रहँदै आएको पोर्चुगल एवं इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राईकर क्रिस्टियानो रोनाल्डो छैटौँ स्थानमा रहे । रोनाल्डो सन् २०१० पछि पहिलो पटक शीर्ष तीनबाट बाहिरिएक हुन् । मेस्सी सर्वाधिक बालोन डी ओर अवार्ड जित्ने खेलाडी बन्दा रोनाल्डो दोस्रो स्थानमा छन् ।

रोनाल्डोले पाँच पटक यस अवार्ड जितेका छन् । मेस्सी राष्ट्रिय टोलीबाट कोपा अमेरिका कप र बार्सिलोनालाई गत सिजन कोपा डेल रे उपाधि जिताउँदै यस अवार्डको हकदार बनेका थिए । 

मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा बालोन डी ओर जित्नुभएको थियो । फ्रान्सबाट प्रकाशित हुने ‘फ्रान्स फुटबल’ ले हरेक बर्ष यस अवार्ड आयोजना गर्दै आएको छ । कोरोना महामारीका कारण गतबर्ष अवार्ड भएको थिएन । एजेन्सी