सरकारले संस्थागत मर्यादा उल्लंघन गरे दुर्घटना निम्तिन्छ : सभापति थापा
सरकारले संस्थागत मर्यादा उल्लंघन गरे दुर्घटना निम्तिन्छ : सभापति थापा
जेठ ९, २०८३
४३३ पटक पढिएको
विराटनगर । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले सरकारले संविधान र संसद्को मर्यादा उल्लंघन गर्दै राज्यका प्रमुख निकायमाथि नियन्त्रण जमाउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
कांग्रेसको देशव्यापी संगठन सुदृढीकरण कार्यक्रम ‘जरा अभियान’ अन्तर्गत शनिबार विराटनगरस्थित कोइराला निवास मा आयोजित पत्रकार भेटघाटमा बोल्दै सभापति थापाले सरकार र प्रतिपक्ष दुवै संविधानको परिधिभित्र रहनुपर्ने बताए ।
प्रतिपक्षको शालीनता र जिम्मेवारीपनलाई कमजोरीका रूपमा नलिन सरकारलाई चेतावनी दिँदै उनले राष्ट्रिय सभामा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गरेको उल्लेख गरे । “हामीले चाहेको भए नीति तथा कार्यक्रम रोक्न सक्थ्यौँ । अन्य दलले पनि रोक्न आग्रह गरेका थिए । तर प्रमुख प्रतिपक्ष जिम्मेवार हुनुपर्छ भन्ने सोचका साथ हामीले मार्गप्रशस्त गर्यौँ,” उनले भने, “यदि हाम्रो विनम्रतालाई कमजोरी ठानियो भने राजनीतिक दुर्घटनाको अवस्था आउन सक्छ ।”
संविधान संशोधनका लागि सरकारले गठन गरेको कार्यदलप्रति पनि उनले असन्तुष्टि जनाए । उक्त कार्यदललाई ‘विवादको पिटारो’को संज्ञा दिँदै थापाले यसले पहिल्यै समाधान भइसकेका विषयलाई पुनः उठाएर संविधानलाई झन् जटिल बनाउने काम गरिरहेको बताए । कार्यदल गठन प्रक्रियाप्रति सुरुदेखि नै कांग्रेस असहमत रहेको र त्यसकारण सहभागी नभएको उनको भनाइ थियो ।
कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई आफ्नो प्रभावमा राख्न खोजेको आरोप लगाउँदै थापाले विगतमा पनि बलियो बहुमतका सरकारबाट यस्ता प्रयास भएको स्मरण गराए । “२०६४ मा माओवादी र २०७४ मा तत्कालीन नेकपाको बलियो बहुमत हुँदा पनि यस्ता प्रयास भएका थिए,” उनले भने, “अहिले पनि संसद् र न्यायपालिकालाई छायामा पार्ने प्रयास भइरहेको छ । तर न्यायपालिका, सञ्चारमाध्यम र नागरिक समाज यस्ता प्रयास विफल पार्न सक्षम छन् । कांग्रेसले पनि यस्ता प्रवृत्तिविरुद्ध सशक्त रूपमा उभिनेछ ।”
उनले ‘जरा अभियान’ मार्फत कांग्रेसले संगठनको आधारभूत तह बलियो बनाउने अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै लोकतान्त्रिक संस्था र जनस्तरका मुद्दाको रक्षामा पार्टी सधैँ प्रतिबद्ध रहने बताए ।