विराटनगर-नेपाली चिया निकासीमा भारतीय पक्षले गरेको गैरभन्सार अवरोधले तत्कालका लागि निकास पाएको छ । नेपालले चालेको कूटनीतिक पहलमार्फत काँकडभिट्टा नाकाबाट चिया निर्यात सुचारू भएको हो ।


भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलका अनुसार परराष्ट्र मन्त्रालयमार्फत भारतीय सरोकारका निकायमा कूटनीतिक पहल गरिएको थियो । भारतीय पक्ष सहमत भएपछि काँकडभिट्टा नाकामा रोकिएको १८ ट्रक चिया भारततर्फ निकासी भएको छ ।


नेपालबाट हुने चिया आयातमा अवरोध नगर्न भारतीय पक्ष तयार भएपछि चिया निर्यात भइरहेको मेची भन्सार कार्यालयले बताएको छ । गत मंगलवारदेखि चिया निकासी सुचारू भएको र अहिले दैनिक ३/४ ट्रक चिया भारततर्फ गइरहेको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केशवराज ओलीले जानकारी दिए ।


भारतको वाणिज्य विभागले गत ३ नोभेम्बरमा मातहतका निकायलाई पत्र लेखेर नेपालबाट आउने चियाको गुणस्तरमा प्रश्न उठाएको थियो । विभागले गुणस्तर जाँचलगायत प्रक्रिया पूरा गरेरमात्रै आयात गर्न दिने निर्देशन दिएपछि चिया बोकेका ट्रक नाकामा अड्कीएका थिए ।


नेपालबाट निकासी भएको चियालाई भारतका व्यवसायीले ‘दार्जिलिङ चिया’को ब्रान्डमा भारतीय र विदेशी बजारमा विक्री गर्दै आएका छन् । पछिल्लो समयमा भारतमा चिया उत्पादन बढेपछि गुणस्तरको नाममा अवरोध गरेको नेपाली चिया उत्पादकको दाबी छ ।


भारतीय पक्षले दार्जिलिड चियाको गुणस्तर खस्किएको भन्दै नेपालबाट आयात हुने चियाको गुणस्तरण परीक्षण गरेरमात्रै भित्र्याउन निर्देशन दिएको थियो । परराष्ट्र मन्त्रालयले भारतको दिल्लीस्थित नेपाली दूतावास र कोलकातास्थित महावाणिज्य दूतावासमार्फत चिया निकासीमा सहजीकरणका लागि पहल गरेको थियो । दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयमा यसबारेमा पहल गरेको र भारतीय पक्ष चिया आयात गर्न दिन सहमत भएपछि तत्कालका लागि समस्या सुल्झिएको अधिकारीहरूको भनाइ छ ।


तत्कालका लागि समस्याले निकास पाए पनि भारतले बेलाबेलामा नेपाली चियामा गैरभन्सार अवरोध गर्दै आएको गुनासो नेपाली उत्पादकको छ । आफ्नो बजारमा उत्पादन बढेपछि भारतले गुणस्तर र सम्बद्ध प्रक्रियाको बहानामा बखेडा झिक्ने नेपाली उत्पादक बताउँछन् ।


भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँबराबरको चिया निकासी भएको छ । त्योमध्ये ८० प्रतिशत भारततर्फ निकासी भएको भन्सारको तथ्यांक छ ।