विराटनगर- आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ । आइतबार राति दुबईमा भएको विश्वकपको सुपर १२ अन्तर्गतको उक्त खेलमा पाकिस्तानले चिरपरिचित प्रतिद्वन्दी भारतलाई १० विकेटले पराजित गरेको हो । 

विश्वकपमा भारतमाथि पाकिस्तानको यो पहिलो जित हो । यसअघि पाकिस्तानले विश्वकपमा भारतलाई हराउन सकेको थिएन । यस्तै, भारत पहिलो पटक टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १० विकेटले पराजित भएको छ । 

युएईस्थित दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा भारतले दिएको एक सय ५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १७ ओभर ५ बलमा बिना विकेटको क्षतिमा पूरा गरेको थियो । पाकिस्तानको जितमा कप्तान बाबर आजम र मोहमद रिजवानले अर्धशतकीय इनिङ्स खेले ।

रिजवानले अविजित रहदै सर्वाधिक ७८ रन बनाए । कप्तान आजम ६८ रनमा अविजित रहे ।  

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो ।

भारतका लागि कप्तान विराट कोहलीले ५७ रनको अर्धतकीय इनिङ्ग्स खेले । उनले ४९ बल खेल्दा पाँच चौका र एक छक्का प्रहार गरे । यससँगै कोहली टी–ट्वान्टी विश्वकपमा सर्वाधिक धेरै अर्धशतक प्रहार गर्ने खेलाडी बने । 

यस्तै, ऋषव पन्तले ३९ रन बनाए भने रविन्द्र जडेजाले १३ तथा सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले ११–११ रन बनाए । 

बलिङतर्फ शाहिन अफ्रिदीले तीन विकेट लिए भने हसन अलीले दुई विकेट झारे ।