विराटनगर-नाटकको समयमावधि राजनीतिक नेतृत्व र कर्मचारीले सर्वसाधारणलाई कसरी दुःख दिएका छन् भन्ने विषयलाई नाटकले सशक्त रुपमा उठाएको छ । यतिमात्र होइन नाटकको अन्त्यसम्म आइपुग्दा दर्शकको मनभित्र भ्रष्टचार विरोधी मत श्रृजना गर्दै सकिन्छ नाटक ‘ठूला माछा-साना माछा’ । शिल्पी थिएरटरको मुक्त रंगमञ्च अभियान अन्तरगत विराटनगरमा मञ्चन गरिएको नाटकले दर्शकमाझ एउटा छाप छाड्न सफल हुन्छ । जुन शुक्रबार मञ्चन गरिएको थियो । 


किसान, मजदुरहरुले सरकार, ठेकेदार र विचौलियाबाट कतिसम्म दुःख पाएका छन् भन्ने विषयलाई नाटकले छर्लङ पारेको छ । शिल्पीले विराटनगरमा ‘ठूला माछा-साना माछा’ नाटक मञ्चन गरेर अभियानको सुरु गरेको छ । 


शिल्पीले प्रदेश-१ का मोरङ, सुनसरी र झापाका २१ स्थानमा सो नाटक मञ्चन गर्नेछ । विराटनगरबाट सुरु भएको नाटक रंगेली, विराटचोक, इटहरी, धरान, इनरुवा, दमक, विर्तामोड, काँकडभिट्टालगायतका स्थानमा मञ्चन गरिने नाटकका परिकल्पनाकारसमेत रहेका निर्देशक घिमिरे युवराजले जानकारी दिए । 


मञ्चन भएको नाटकलाई आधार मानेर लेखेका उत्कृष्ट ४ कवितालाई जनही २५ हजारका नगदसहित पुरस्कृत गरिने निर्देशक घिमिरेले जानकारी दिए । उनका अनुसार ‘ठूला माछा-साना माछा’ देशभर मञ्चन गरिने र त्यसपछि प्राप्त भएका कवितालाई पुरस्कृत गरिनेछ । 


घिमिरे युवराजको परिकल्पना र निर्देशनमा मञ्चन भएको नाटकमा पवित्रा खड्का, रेनुका कार्की ढोली, सविन कट्टेल, संगता उराँव, मानहाङ लावती, असिम खनाल, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, ज्याक बराल, हिमाल भुजेल र संजीत थुलुङ राईले अभियन गरेका थिए । 


वि.सं. २०६३ सालमा स्थापित शिल्पीले तीन महिने अभिनय तालिमसमेत सञ्चालन गर्दै आएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समेत बेला-बेला विभिन्न नाटक मञ्चन गर्दै आएको शिल्पीले गाउँमा रंगमञ्च कार्यक्रम सञ्चालन गर्ने गरेको छ । दर्शकका रुपमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहित विभिन्न राजनैतिक दलका नेता, साहित्यकार, पत्रकार, बुद्धिजीवीलगायतको सहभागिता थियो ।