काठमाडाैँ— स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले देशका विभिन्न स्थानबाट खोप लगाएका मानिसहरूको नमुना परीक्षण गर्दा खोप प्रभावकारी देखिएको जनाएको छ । एक मात्रा मात्र खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण अर्थात् दुवै मात्रा खोप लगाएका मानिसमा ९० प्रतिशतसम्म एन्टिबडी देखिएको मन्त्रालयले केही दिनअघि गरेको सेरोप्रिभेलेन्स सर्भेक्षणमा देखिएको हो ।

नेपालमा भेरोसेल, जोन्सन एन्ड जोन्सन, कोभिसिल्ड वा एस्ट्राजेनेका लगायत खोप प्रयोग हुँदै आएको छ । यसबाहेक देशका विभिन्न स्थानबाट छ महिनाभन्दा बढी उमेरका व्यक्तिहरूलाई समेटी असार २१ देखि साउन ३० सम्ममा सङ्कलित नमुनामध्येबाट १३ हजार एक सय ६१ जनाको नमुना परीक्षण गर्दा देशभरि ६८.६ प्रतिशत नमुनामा कोभिड एन्टिबडी देखिएको हो । 

नेपालका सात वटै प्रदेशमा गरिएको सर्भेक्षणबाट सो नतिजा प्राप्त भएको सर्भेक्षणमा संलग्न स्वास्थ्यविद् समिरमणि दीक्षितले बताए । यो रिपोर्टले समाजमा कति व्यक्तिहरु कोरोना संक्रमित भए र अहिले उनीहरुको एन्टिबडीको अवस्था कस्तो छ भन्ने कुरा पत्ता लगाउन सजिलो हुने उनले बताए । यो रिपोर्टमा कोरोना संक्रमण भए/नभएका, खोप लगाए/नलगाएका सबै व्यक्तिहरुलाई समेटिएको उनको भनाइ छ ।

अहिले विकसित भैरहेको एन्टिबडी नाै महिनासम्म रहन सक्ने उहाँको भनाइ छ । “शरीरमा रोग प्रतिरोधी क्षमताको अवधि यति नै हुन्छ भनेर भन्न त सकिँदैन तर अहिलेको यो कोरोना भाइरसविरुद्धको खोपले विकास गरेको एन्टिबडीलाई हेर्ने हो भने छ महिनादेखि नौ महिनाको अवधिसम्म एन्टिबडी रहन सक्छ भन्ने देखिन्छ ”उनले भने ।

तर एन्टिबढी मात्र सबै थाेक हाेइन । एन्टिबडी बनाउने काेषिका हुन्छ त्यसले स्मरणमा राख्न सक्छ र त्याे एक वर्ष र जीवन भर रहनसक्छ । त्यसैले शरीरमा एन्टिबडी नभए पनि संक्रमण हुने वितिकै एन्टिबडी बनाउने काेषिकाहरूले त्यसलाई मेमाेरीमा राख्नेे हुनाले पुनः तत्कालै एन्टिबडी उत्पादन गर्ने उनले बताए ।