एभरेष्ट प्रिमियर लिग (इपिएल) फ्रेन्चाइज क्लब विराटनगर वारियर्सले जिम्बाबवेका अलराउन्डर सिकन्दर राजालाई भित्र्याएको छ । विराटनगर वारियर्सले चौथो संस्करणको इपिएल खेल्नका लागि सिकन्दरलाई अनुबन्ध गरेको । 

सोमबार सामाजिक सञ्जालमार्फत विराटनगरले ३५ वर्षीय राजालाई एक सिजनका लागि अनुबन्ध गरेको जनाएको हो । यससँगै विराटनगरले टोलीमा पहिलो विदेशी खेलाडी भित्र्याएको छ ।

पाकिस्तानको सियालकोटमा जन्मिएका राजा सन् २००२ मा बुबाआमासँगै जिम्बाबवे सरेका थिए । दाहिने हाते ब्याट्सम्यान राजाले दाहिने हाते अफ स्पिन बलिङ गर्छन् । जिम्बाबवेका लागि १७ टेस्ट, १०५ अन्तर्राष्ट्रिय एकदिवसीय र ४२ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका  सिकन्दरले अन्तर्राष्ट्रिय क्रिकेटमा चार शतक लगाएका छन् ।

टी ट्वान्टीमा उनले १०६ को स्ट्राइक रेटले एक अर्धशतकसहित ५२४ रन बनाउनुका साथै १३ विकेट लिएका छन् । उनले सन् २०१३ को सेप्टेम्बर महिनामा पाकिस्तानविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

उनले पाकिस्तान सुपर लिग, क्यारेबियाली प्रिमियर लिगसहित दर्जनौं फ्रेञ्चाइज क्रिकेटमा खेलेका छन् ।