विराटनगर-अन्जन विष्ट र नवयुग श्रेष्ठको एक/एक गोलको मद्धतले नेपालले चाइनिज पाइपेइलाई कुवेतको जाबेर अल अहमद अन्तराष्ट्र्रिय रंगशालामा २-० को गोल अन्तरले पराजित गरेको छ । यो संगै नेपाल फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको हो । 


खेलको चौंथो मिनेटमा डिबक्सभित्र ताईपेका चेङ्ग हाओले ह्यान्ड गरेपछि अन्जनले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । सन्तोष तामाङको फ्रिकिकमा ताईपेका चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेका थिए । 


यससँगै अन्जनले ताईपेविरुद्ध लगातार दोस्रो खेलमा गोल गर्न सफल भएका छन् । यस अघि ताईपेको घरेलु मैदानमा नेपालले २-० को जित निकाल्दा अन्जनले दुई गोल गरेका थिए । दोश्रो हाफको त्यसपछि खेलको ८२ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले गोल गर्दै नेपाललाई २-० गोलको जित दिलाए ।


जितसँगै छनोटको समूह ’बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । चाईनिज ताईपेको यो छैटौं हार हो । अंक विहीन ताईपे तालिकाको पुछारमा रहेको छ । अब नेपालले जेठ २४ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।