विराटनगर-फुटबलमा पछिल्लो समय बर्चस्व विहिन बन्न पुगेको विराटनगरले लामो समयपछि राष्ट्रिय स्तरको फुटबल क्लब पाएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको हातबाट बिहीबार साँझ आयोजित समारोहमा विराटनगर सिटी फुटबल क्लब घोषणा गरियो ।

हाल १४ खेलाडी अनुबन्धित भइसकेको क्लबमा राष्ट्रिय खेलाडी रञ्जित धिमाललाई क्याप्टेन नियुक्त गरिएको क्लबका प्रमुख कार्यकारी अधिकृत शुभाशिष कोइरालाले बताए । क्लबमा धिमालका साथ अन्य राष्ट्रिय खेलाडी सुनिल बल र सन्तोष तामाङ पनि छन् ।

क्लबले गोलकिपरमा किशोर गिरी र सूर्य अधिकारी तथा डिफेन्समा रञ्जित धिमाल, सरोज दाहाल, विक्रम धिमाल र विजय धिमाल नियक्त गरेको छ। त्यस्तै मिडफिल्डरमा हेम तामाङ, सुनील खड्का, सुरजजिउ ठकुरी, सुनिल बल, अशोक थापा र सुशील लामा छन् । क्लबले फरवार्डतर्फ दीपक राई र नीरकुमार राईलाई नियुक्त गरेको छ ।

टिममा २० खेलाडी अनुबन्धित गर्ने योजना छ । कोइरालाले क्लबले राष्ट्रिय सुपर लिगमा सहभागी हुने अवसर पाएको जानकारी दिए । क्लबले प्रख्यात विदेशी खेलाडी र प्रशिक्षकलाई पनि अनुबन्धित गर्नेछ ।