विराटनगर– विराटनगर महानगरपालिका–३, भट्टाचोक निवासी ८८ वर्षीया नन्दा होमागाईले आफूले वृद्धभत्ता तथा घरभाडाबाट प्राप्त रकम बचत गरी रसुवाका बाढीपीडितका लागि ५१ हजार रुपैयाँ सहयोग गरेकी छन्।

गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीका कारण घरबारविहीन बनेका पीडितलाई राहत उपलब्ध गराउने उद्देश्यले होमागाईले उक्त रकम प्रदान गरेकी हुन्।

नेपाली कांग्रेसले बाढीपीडितका लागि सञ्चालन गरेको राहत संकलन अभियानमा जम्मा हुने गरी उनले नेपाली कांग्रेस मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बुलाई आफ्नै घरमा उक्त रकम हस्तान्तरण गरेकी हुन्।

उनका स्वर्गीय पति पदमराज होमागाईले पनि विगतमा विपद्मा परेका व्यक्तिहरूलाई सहयोग गर्दै आएको स्मरण गर्दै नन्दाले आफूले पनि पीडितको दुःखमा साथ दिने उद्देश्यले सहयोग गरेको बताइन्।

‘टेलिभिजनमा सबैले राहत संकलन गरेको देखेँ। आफूले पनि थोरै भए पनि सहयोग गर्नुपर्छ भन्ने लागेर रकम दिएको हुँ,’ उनले भनिन्।

group pic

नन्दाका छोरा तथा नेपाल किसान संघ मोरङका अध्यक्ष वसन्त होमागाईले आफ्ना बुवाले पनि विगतमा नेपाली कांग्रेसलाई लेभी सहयोग गर्ने गरेको आफूलाई जानकारी रहेको बताए। ८८ वर्षीया आमाले आफूले जोहो गरेर राखेको रकम बाढीपीडितलाई सहयोग गर्न चाहेको बताएपछि नेपाली कांग्रेसले सरकारमार्फत बाढीपीडितसम्म राहत पुर्‍याउने उद्देश्यले सञ्चालन गरेको राहत कोषमा जम्मा हुने गरी रकम हस्तान्तरण गरिएको उनले बताए।

रकम बुझ्दै नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले ८८ वर्षीया वृद्धाले समेत बाढीपीडितको दुःखमा साथ दिने अठोटका साथ गरेको सहयोगले समाजका अन्य व्यक्तिलाई पनि आफ्नो क्षमताअनुसार सहयोग गर्न प्रेरणा मिल्ने बताए।

उनले नेपाली कांग्रेसले पार्टीमार्फत संकलन भएको राहत रकम सरकारलाई हस्तान्तरण गरी बाढीपीडितसम्म पुर्‍याउने उद्देश्यले सहयोग संकलन अभियान सञ्चालन गरिरहेको जानकारी दिए।

रकम हस्तान्तरण कार्यक्रममा विराटनगर महानगरपालिका–३ का वडाध्यक्ष बासुबहादुर बस्नेत, नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझी, नेपाल किसान महासंघका केन्द्रीय सदस्य अशोक रिजाल, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य सुदीप रिजाल तथा बुद्धोदय सहकारी संस्थाका अध्यक्ष राजेन्द्र खनाललगायतको उपस्थिति रहेको थियो।