विराटनगर– चीन–नेपाल सीमा अन्तर्गत रसुवा नाकाबाट गत भदौ १० गते आएको महाप्रलयकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नोना कोइराला स्मृति प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानले प्राकृतिक विपद्बाट रसुवा तथा आसपासका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्पीडितको सहयोगका लागि उक्त रकम प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले जानकारी दिए ।
भदौ १० गते, बुधबार आएको बाढीका कारण नेपाली नागरिकका साथै नेपाल भ्रमणमा रहेका विभिन्न देशका विदेशी पर्यटक तथा नागरिकसमेत प्रभावित भएका छन्। घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रतिष्ठानले मृतकका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
प्रतिष्ठानले बाढीमा परी घाइते तथा बिरामी भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता भएका व्यक्तिको खोजी कार्य यथाशीघ्र सम्पन्न गरी उनीहरूको सुरक्षित उद्धार हुन सकोस् भन्ने कामना पनि गरेको जनाएको छ।
विपद्को समयमा सरकारद्वारा सञ्चालन भइरहेको उद्धार, राहत, उपचार तथा बेपत्ता व्यक्तिको खोजी कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक रहेको प्रतिष्ठानको भनाइ छ। नेपाल सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यक पहल गरिरहेको र आगामी दिनमा पनि उक्त कार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने विश्वास प्रतिष्ठानले व्यक्त गरेको छ।
देश र जनताको सेवामा निरन्तर सक्रिय रहँदै आएको प्रतिष्ठानले आफ्नो सामाजिक तथा नैतिक दायित्वलाई आत्मसात् गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
प्रतिष्ठानले विपद्को यस घडीमा सरकारी प्रयाससँगै सामाजिक संघसंस्था, निजी क्षेत्र तथा सर्वसाधारण नागरिकसमेत आ–आफ्नो ठाउँबाट सहयोगमा जुट्नुपर्ने आवश्यकता औंल्याएको छ। प्रभावित नागरिकको तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको प्रतिष्ठानको धारणा छ।

