विराटनगर– भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्त र घरवार गुमाउन बाध्य भएका पीडितहरूको सहयोगका लागि औद्योगिक घराना सारडा ग्रुप अघि सरेको छ। ग्रुपले बाढीपीडितको उद्धार तथा व्यवस्थापनका लागि सरकारलाई १ करोड रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरेको छ।

सारडा ग्रुपका निर्देशक पवन सारडाले बाढीपीडितको उद्धार, राहत तथा व्यवस्थापनका लागि उक्त रकम सोमबार सरकारलाई हस्तान्तरण गर्ने जानकारी दिएका छन्।

सारडा ग्रुपको वार्षिकोत्सवका अवसरमा मुख्य कार्यालय विराटनगरमा आयोजित रक्तदान कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका छन्। त्यस्तै, काठमाडौंमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाभन्दा बढीले रक्तदान गरेका छन्।

बाढीपीडित क्षेत्रमा आवश्यक पर्न सक्ने रगतको व्यवस्थापनलाई ध्यानमा राख्दै थप ५० जना कर्मचारीलाई तयारी अवस्थामा राखिएको निर्देशक सारडाले बताए। कतिपय बिरामीलाई तत्काल ताजा रगत आवश्यक पर्ने भएकाले आवश्यकताअनुसार रक्तदान गर्न सकिने गरी कर्मचारीहरूलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ।

बाढी प्रभावित क्षेत्रलाई लक्षित गरी करिब २ सय पिन्ट रगत व्यवस्थापन गर्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम सञ्चालन गरिएको सारडाले जानकारी दिए।

यसैबीच, सारडा ग्रुपले बाढीपीडितका लागि करिब ६० लाख रुपैयाँ बराबरको बिस्कुट, चाउचाउलगायत खाद्यान्न सामग्री पनि प्रभावित क्षेत्रमा पठाएको जनाएको छ।

विपद्को समयमा निजी क्षेत्र सधैं सरकार र पीडित नागरिकको साथमा रहने उल्लेख गर्दै निर्देशक सारडाले दुःखद परिस्थितिमा यसअघि पनि विभिन्न किसिमका सहयोग गर्दै आएको बताए।

उनले भने, “दुःखद परिस्थितिमा यसअघि पनि हामीले सरकारलाई सहयोग गर्दै आएका छौं। यो पटकको दुःखको घडीमा पनि हामी पीडित र सरकारसँगै छौं।”

हाल दर्जनौं उद्योग सञ्चालन गरिरहेको सारडा ग्रुपको पहिलो उद्योग पशुपति सोल्भेन्ट रहेको बताइएको छ। ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा संकटका समयमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ।