विराटनगर– रसुवा जिल्लाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति उद्योग संगठन मोरङले गहिरो दुःख व्यक्त गर्दै बाढी पीडितका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संगठनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई आज १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

प्रकृतिको विनाशकारी प्रहारबाट धेरै घरपरिवारको खुसी खोसिएको भन्दै संगठनले यस पीडादायी घडीमा बाढीमा ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। संगठनका अध्यक्ष नन्दकिशोर राठीले शोकसन्तप्त परिवारले सहनुपरेको असीम पीडामा संगठन उनीहरूसँगै रहेको बताएका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित नागरिकको सुरक्षित जीवनको कामना गरेका छन्।

अध्यक्ष राठीले निजी क्षेत्र आर्थिक गतिविधिको संवाहक मात्र नभई समाजकै अभिन्न अंग भएकाले राष्ट्रले पीडा भोग्दा निजी क्षेत्रले पनि त्यो पीडा महसुस गर्ने बताए। सोही मानवीय दायित्वअन्तर्गत संगठनले १५ लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराएको उनको भनाइ छ।

संगठनले आफ्ना सम्पूर्ण सदस्य उद्योग तथा प्रतिष्ठानलाई समेत यस राष्ट्रिय दुःखको घडीमा आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार सरकारको उद्धार तथा राहत कोषमा सहयोग गर्न आग्रह गरेको छ।

त्यसैगरी, दिनरात अग्रपंक्तिमा रहेर उद्धार तथा राहत कार्यमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्था, स्वयंसेवक तथा सहयोगी सम्पूर्ण हातहरूप्रति संगठनले आभार र सम्मान व्यक्त गरेको छ।

प्रभावित नागरिकको जीवनमा पुनः आशा र मुस्कान फर्काउन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी एकजुट भएर पीडितको साथमा उभिनुपर्नेमा पनि संगठनले जोड दिएको छ।