विराटनगर–नेपालको निर्विकल्प चियाको बजारको रुपमा रहेको भारतीय बजारमा सहज निकासी नपाउदा नेपाली किसान र उद्योगीले झमेला ब्यहोर्नु परेपछि चियाको वैकल्पिक बजार खोजीनुपर्ने आवाज उठ्न थालेको छ । भारत निकासी गर्दा जहिल्यै गैरभन्सार अवरोधको कारण पटक पटक झमेला ब्यहोर्नुपर्ने भएकाले किसान, व्यावसायी र उद्योगीले बैकल्पिक बजारको आवश्यकता महसुस गरेका हुन ।
चियाको निकासीका लागि बंगलादेश, पाकिस्तान र चीन विकल्प हुन सक्ने व्यावसायीहरुले बताएका छन । तीन बर्ष अघि चिनीया दुतावासको टोलीले इलामनै पुगेर नेपालको चियाको गुणस्तर र चिन निकासीका बारेमा छलफल गरेको थियो । स्थानिय व्यवसायीहरुले केही परिमाण चिया तिब्बतसम्म पुर्याएका पनि थिए । तर नेपालको चिया केरुङ नाका हुदै चिनपुग्ने बाटो भने सहज रहेन । जस्को कारण सीमा जोडीएको उत्तर छिमेकीको बजारमा नेपाली चियाले स्थान पाउन सकेको छैन ।
दुई दशकदेखी जर्मनी र अन्य आठ वटा मुलुकमा अर्थोडक्स चिया बिक्री गर्दै आएका गोर्खा टि स्टेलका अध्यक्ष उदय चापागाईले भारतले पटक पटक नेपाली किसान र उद्योगीलाई दुख दिइरहदा पनि नेपाल सरकारले कुटनीतिक माध्यमबाट यो समस्याको स्थायी समाधान गर्न नसक्नु भनेको नेपालमा सरकार नभई प्रशासनिक युनिटमात्रै रहेकाले यस्तो भएको आरोप लगाए ।
उनले भारतको विकल्पमा पाकिस्तान, खाडी मुलुहरु र टर्कीमा समेत नेपालको चिया बिक्री गर्न सकिने अवस्था रहेको बताए । उनका अनुसार चीनमा नेपालको चियाको अथाहा बजार छ । तर चीनले अर्ग्यानिक चिया र स्तरिया चिया खोज्ने भएकाले हामीले उनीहरुको स्तरको चिया उत्पादन गर्न सके चीन प्रमुख बजार हुनसक्ने उनले बताए ।
चीनका राजदुतहरुले आफ्नो मुलपानीमा रहेका गोर्खा चिया कमानमा पुगेर चिया खाएर राम्रो प्रतिक्रिया दिएको सम्झदै उनले नेपाल सरकार र चीन सरकार बिच जीटुजीको माध्यमबाट चीनमा चिया निर्यात गर्न सकिने बताए । जर्मनीको ल्याबमा आफ्नो चिया टेष्ट पास भएर कोलोकाता बन्दरगाहा हुदै जाने भएपनि भारतको ल्याबले चिया परिक्षण फेल गरिदिने गरेकोमा आफू निकै आश्चर्यमा पर्ने गरेको चापागाईले सुनाए । उनले भने भारत सरकारले निर्वाध चियाको निकासी दिदैन भने चियाको बैकल्पिक बजार नेपाल सरकारले नै खोज्नु पर्ने सुझाव दिए ।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालका अध्यक्ष डिल्लीराम श्रेष्ठले नेपालबाट चीन लगायत बंगालदेश, पाकिस्तान, रसिया, खाडी मुलुकमा चियाको प्रसस्त बजार भएपनि सरकारले त्यहाँको सरकारसंग बार्ता गरेर नेपाली चिया निकासी हुनसक्ने र त्यहाबाट चियाको पैसा नेपालसम्म आइपुग्ने ब्यावस्था गरिदिए नेपालको चियाले सधैंका लागि समस्याबाट मुक्ती पाउने बताए । उनका अनुसार चीनको केरुङ नाका हुदै नेपाली चिया चीन निकासी गर्न सकिन्छ तर त्यो नाकाबाट चिया पठाउन प्रतिबन्ध रहेकाले त्यो प्रतिबन्ध हटाएर चियाको निकासी सुचारु गर्न सरकारले चीन सरकारसंग पहल गर्नुपर्ने श्रेष्ठले बताए ।
दुबईमा चिया पठाउन सकिने अवस्था रहेको राजदुतावासबाट आएका एक सुरक्षा अधिकारीले आफूहरुलाई बताएपनि त्यहाँको सरकारसंग पहिले अनुमति पत्र लिनका लागि ४५ लाख रुपैयाँ शुल्क तिर्नूपर्ने प्रावधान रहेको तर एउटा किसानले तिर्न नसक्ने भएकाले त्यसमा पनि सरकारले नै जीटुजीको माध्यमबाट चिया निकासी सुचारु गराउन सक्ने सम्भावना रहेको बताए । तर सरकारले नेपाली चिया किसानको समस्यामा देखेको नदेखै गर्दै आएको आरोप उनको छ ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले नेपालको चियाको ९५ प्रतिशत बजार भारत रहेको र भारत सरकारसंग नेपाल सरकारले जीटुजी सम्झौता गरेर गैरभन्सार अवरोध हटाएर ल्याब परिक्षणलाई ब्याबहारिक बनाए भारतको विकल्पमा अन्य कुनै बजारको आवश्यकता नपर्ने उनले बताए ।
तर भारतको बैकल्पिक बजारमा जानका लागि पहिले किसान र व्यावसायीले होइन सरकारले पहल गर्नु पर्ने उनले उल्लेख गरे । ’नीजि क्षेत्रले पहल गरेर खासै केही हुने होइन, यो बिषयमा सरकारनै गम्भिर भएर लाग्नु पर्छ’पराजुलीले भने । भारतबाहेकका मुलुक पठाउदा चियामा गुणस्तर त्यहि अनुसारको र अर्ग्यानिक भएमा अझ बढी मूल्य पाउने सम्भावना रहने उनले बताए ।
भारत बाहेकका अन्य बैकल्पिक बजारहरु धेरैवटा मुलुकमा रहेपनि त्यसको लागि सरकारबाट नै पहल हुनुपर्ने बताए । उनले भने‘हामी चिन चिन भन्छौं तर चिया चिन पठाउनका लागि आवश्यक पर्ने प्रावधान सरकार र सकारकारबिच हुने समझदारी खै? त्यतिकै एक दुई किलो चिया उपहार पठाउदैमा निकासी नै भएको भन्न नमिल्ने उनले बताए । उनलेभने‘दुई चार किलो चिया होइन बल्कमा करोडौं किलो चिया निकासी गर्नुपर्ने अवस्था हो त्यसैले बलियो सम्झौता आवश्यक पर्छ जुन नेपाल सरकारले ती मुलुकका सरकारसंग सम्झौता गर्नुपर्छ ।
नेपाल कफि तथा चिया विकास बोर्डका प्रवक्ता दिपक खनालले अवरोध भएपछि मात्रै चियाको विकल्पको बजार खोज्ने भन्दा पनि भारतसंग स्रगै अन्य मुलुकमा पनि नेपाली चियाको बजारको सम्भाब्यता अध्ययन र त्यहि अनुसारको सम्झौता भएमा मात्र निकासी हुन सक्ने बताए ।
चिनमा चिया निकासीका लागि परराष्ट्रमन्त्रालय, केन्द्रिय चिया तथा कफी विकास बोर्ड, कृषि मन्त्रालय र चाइनिज दुतावास बिचमा तीन बर्ष अघि नेपालको चिया चिन निकासी गर्ने पहल भएपनि बिचमा नै त्यो निस्क्रीय भएकाले विभिन्न अवरोधको कारण चिया निकासी हुन नसकेको जानकारी उनले दिए । महेन्द्र पाण्डे चिनको राजदुत हुदा पनि चिन निकासीको प्रयास भएपनि दुइदेश बिचको सन्धी, आयात निर्यातको सम्झौता र गुणस्तर परिक्षणका प्रावधानहरुका कारण चिन चिया निकासीको प्रयास भएपनि सम्भव नभएको खनालले बताए ।
उनले भने‘दुबै देशका बिचमा चिया निर्यात र आयातको सम्झौता भए नेपालको चियालाई चिनले आयात हुने खाद्य बस्तुको सुचीमा राख्नुपर्ने र चाइनिज ब्यापारीले नेपालको चिया आयात गर्न चिन सरकारसंग अनुमति लिएपछि मात्रै चियाको निकासी हुन्छ । अन्यथा उपहार बाहेक व्यावसायीक रुपमा चियाको चिन निर्यात गर्न नसकिने उनले बताए ।
बार्षिक रुपमा झण्डै तीन अर्बको चिया निकासी हुदै आएको छ । नेपाली किसान र उद्योगीले केही बर्षदेखी किराको प्रकोप र निकासीमा भारतीय पक्षले लगाउदै आएको गैर भन्सार अवरोधको कारण उत्पादन घट्दै गएको छ भने निकासी पनि घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
हाल नेपालमा २० हजार ३०२ हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको छ । यस क्षेत्रमा १५ हजारभन्दा बढी किसान संलग्न छन् भने करिब ६० हजार जनाले रोजगारी पाएका छन । देशभर १७० चिया बगान र १२० प्रशोधन उद्योग सञ्चालनमा छन् ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा चिया निर्यात १९ प्रतिशतले घटेर २ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ । निर्यात परिमाण पनि २२.२ प्रतिशतले घटेर १० हजार १२४ टनमा झरेको छ । यस अवधिमा भारततर्फ मात्रै ९ हजार ५२९ टन चिया २ अर्ब ३२ करोड रुपैयाँ बराबर निर्यात भएको छ ।
निर्यातमा भारतमाथिको उच्च निर्भरता, घरेलु लिलामी प्रणालीको अभाव र नीतिगत कमजोरीजस्ता दीर्घकालीन समस्याले पनि चिया क्षेत्रलाई प्रभावित बनाएको छ । व्यवसायीहरूका अनुसार यी समस्याको समाधान नगरे नेपालका साना किसान क्रमशः विस्थापित हुने र चिया उद्योगको भविष्य जोखिममा पर्नेछ ।

