विराटनगर–महिला उद्यमीहरूको वित्तीय ज्ञान, डिजिटल वित्तीय सेवामा पहुँच विस्तार तथा आर्थिक सशक्तीकरणलाई लक्षित गर्दै मोरङ उद्योग व्यापार संघको महिला उद्यम समिति र ईसेवा लिमिटेडको संयुक्त आयोजनामा शुक्रबार विराटनगरमा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ।

विराटनगरस्थित रत्न होटलमा आयोजित तालिममा विराटनगर महानगरपालिका, बुढीगंगा, ग्रामथान र कटहरी गाउँपालिकाका विभिन्न संघसंस्था तथा समितिमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा आबद्ध महिला उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Group Pic

कार्यक्रमको उद्घाटन नेपालस्थित स्विस दूतावासका प्रथम सचिव शिशिल रिभियरले गरेका थिए। कार्यक्रममा मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह विशेष अतिथि तथा स्विस दूतावासका इनोभेसन तथा डिजिटलाइजेसन कार्यक्रम अधिकृत स्नेहा भट्टराई अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको अध्यक्षता महिला उद्यम समितिकी संयोजक श्रुति शर्मा र ईसेवा लिमिटेडका सीईओ ट्रान्सफर्मेसन कार्यालयका प्रमुख सुमन खरेलले गरेका थिए।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै सुमन खरेलले वित्तीय समावेशीकरणलाई सुदृढ बनाउन निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले वित्तीय साक्षरताले उद्यमशीलताको विकास र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै डिजिटल युगमा महिला उद्यमीका लागि डिजिटल वित्तीय सेवाको प्रभावकारी उपयोग आवश्यक बन्दै गएको धारणा राखे। ईसेवामार्फत उपलब्ध सेवाले व्यवसाय सञ्चालनलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाएको उनको भनाइ थियो।

विशेष अतिथि अनिलकुमार साहले डिजिटल अर्थतन्त्रको विस्तारसँगै उद्यमीका लागि डिजिटल वित्तीय साक्षरता अपरिहार्य बन्दै गएको बताए। उनले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर व्यवसायलाई थप प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन सकिने विश्वास व्यक्त गरे। साथै ईसेवालाई आफ्ना सेवालाई अझ सहज, सुरक्षित र विश्वसनीय बनाउन आग्रह गर्दै डिजिटल वित्तीय सेवाको विस्तारले उद्यमशीलताको विकासमा सकारात्मक योगदान पुग्ने बताए।

तालिममा ईसेवा लिमिटेडका प्रदेश इन्चार्ज झलक सुब्बाले वित्तीय साक्षरताको महत्व, डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोग तथा बचत र लगानी संस्कृतिबारे प्रस्तुति दिएका थिए। ईसेवाका सोसल इम्प्याक्ट म्यानेजर उदितचन्द्र अर्यालले प्रशिक्षणको सहजीकरण गरेका थिए।

सहभागीलाई बैंक तथा वित्तीय संस्थाका सेवा, विभिन्न वित्तीय उत्पादन, डिजिटल वालेट, रेमिट्यान्स सेवा, सामाजिक सुरक्षा कोष, बीमा, सुरक्षित डिजिटल कारोबार, साइबर ठगीबाट जोगिने उपाय तथा साना र मझौला उद्यमका सम्भावित लगानी क्षेत्रबारे व्यवहारिक जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।

समापन कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै महिला उद्यम समितिकी संयोजक श्रुति शर्माले यस्ता तालिमले महिला उद्यमीको वित्तीय क्षमता, निर्णय क्षमता तथा डिजिटल वित्तीय सेवामा पहुँच अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। उनले महिला उद्यमीको क्षमता विकासका लागि समिति विगतदेखि नै सक्रिय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाइन्।