विराटनगर। विराटनगरका वरिष्ठ समाजसेवी तथा उद्योगी दिनबन्धु गोयलले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै विराटनगरका दुई संस्थालाई जनही १ लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेका छन्।


गोयलले विराटनगर–१४, जतुवास्थित गुरुकुल माध्यमिक विद्यालयलाई १ लाख रुपैयाँ सहयोग गर्नुका साथै विद्यालयका अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउन करिब ३९ हजार रुपैयाँ मूल्य बराबरको साउण्ड सिस्टम पनि उपलब्ध गराएका छन्।


बिहीबार आयोजित कार्यक्रममा गोयलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्योगी एवं समाजसेवी नन्दकिशोर राठीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए। सहयोग ग्रहण गर्दै अध्यक्ष राठीले प्राप्त रकम विद्यालयको प्रशासनिक तथा व्यवस्थापकीय कार्यलाई थप प्रभावकारी बनाउन उपयोग गरिने बताए। उनले विद्यालयको शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिलाई सुदृढ बनाउन गरिएको सहयोगप्रति गोयलप्रति आभार व्यक्त गरे।


यसअघि गोयलले विराटनगर–१ स्थित परमार्थ सिंघिया आरती सेवालाई पनि १ लाख रुपैयाँ सहयोग गरेका थिए। संस्थाका अध्यक्ष तथा न्यू सृष्टि दैनिकका अध्यक्ष एवं प्रधान सम्पादक वरिष्ठ पत्रकार शंकर खरेललाई उनले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। उक्त सहयोग संस्थाले सञ्चालन गर्दै आएका धार्मिक तथा सामाजिक सेवामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउन उपयोग गरिने जनाइएको छ।


लामो समयदेखि शिक्षा, स्वास्थ्य, धर्म, संस्कृति तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका गोयल पूर्वी नेपालको परोपकारी व्यक्तित्वका रूपमा परिचित छन्। उद्योग व्यवसायबाट सक्रिय भूमिका घटाउँदै उनले आफ्नो अधिकांश समय र स्रोत सामाजिक सेवामा समर्पित गर्दै आएका छन्। झापा, मोरङ, सुनसरीलगायत जिल्लाका सयौं शैक्षिक, धार्मिक र सामाजिक संस्थालाई उनले नियमित रूपमा आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएका छन्। साथै हजारौं जेहेन्दार तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति, विभिन्न विद्यालयमा अक्षयकोष स्थापना, मठमन्दिर, गौशाला, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाको विकासमा समेत उनको महत्वपूर्ण योगदान रहेको छ।


सामाजिक सेवामा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै विभिन्न संघसंस्था तथा नागरिक समाजले विगतमा गोयललाई नागरिक अभिनन्दन तथा सम्मानसमेत गरेका छन्।