विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाका सामुदायिक रेडियोकर्मीलाई लक्षित गरी आयोजित तीन दिने क्षमता विकास तालिम सम्पन्न भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोग तथा विराट मिडिया टाईम्स प्रा.लि.को आयोजनामा असार १९ देखि २१ गतेसम्म विराटनगरमा तालिम सञ्चालन गरिएको हो।

पछिल्लो समय सामुदायिक रेडियो तथा रेडियोकर्मीले भोगिरहेका चुनौतीलाई सम्बोधन गर्दै उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ। तालिममा कोशी प्रदेशका विभिन्न जिल्लाका ४० जना सामुदायिक रेडियोकर्मी सहभागी भएका थिए भने उद्घाटन कार्यक्रममा ५६ जनाको उपस्थिति रहेको थियो।

विराट मिडिया टाईम्स प्रा.लिका अध्यक्ष अभिनासकुमार निधीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा भरत खड्का, उर्मिला निरौला, द्रोण धमला, कुमोद अधिकारी, हिमाकुमारी चेम्जोङ, ज्ञानेन्द्र निरौला, निलिफा सुब्बा तथा नेत्रप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो।

तालिममा नेत्रप्रसाद अधिकारीले उद्घोषण तथा समाचार लेखन, ज्ञानेन्द्र निरौलाले रेडियोकर्मीको क्षमता अभिवृद्धि र वर्तमान चुनौती तथा निलिफा सुब्बाले विगतदेखि वर्तमानसम्मको पत्रकारिताको अवस्थाबारे सहजीकरण गरेका थिए।

कार्यक्रममा बोल्दै कुमोद अधिकारीले लोकतन्त्र र गणतन्त्रको संरक्षणमा सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सामुदायिक रेडियो कमजोर हुनु लोकतान्त्रिक अभ्यासका लागि पनि चुनौतीपूर्ण विषय भएको बताए। उनले पत्रकारको क्षमता अभिवृद्धिसँगै सामुदायिक रेडियोलाई थप सुदृढ बनाउन आवश्यक रहेको धारणा राखे।

अन्य वक्ताहरूले पत्रकारिता समाजको ‘तेस्रो आँखा’ भएकाले सत्य, तथ्य र विश्वसनीयतामा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिए। सामाजिक सञ्जालमा आएका सामग्रीलाई सत्यापन नगरी समाचारका रूपमा सार्वजनिक गर्न नहुने तथा स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिताले मात्र लोकतन्त्रलाई सुदृढ बनाउन सक्ने उनीहरूको भनाइ थियो।

तालिमबाट सहभागीहरूले समाचारको तथ्य परीक्षण, मिथ्या सूचना पहिचान, सन्तुलित तथा विश्वसनीय समाचार सम्प्रेषण, सामाजिक उत्तरदायित्व र समुदायप्रति जवाफदेही पत्रकारिताबारे व्यवहारिक ज्ञान हासिल गरेको आयोजकले जनाएको छ। प्रदेश सरकार र सञ्चार क्षेत्रबीच समन्वय तथा सहकार्यको वातावरण निर्माण गर्न पनि तालिम उपलब्धिमूलक भएको निष्कर्ष निकालिएको छ।

प्रतिवेदनमा सीमित बजेटका कारण कोशी प्रदेशका सबै १४ जिल्लाका पत्रकारलाई समेट्न नसकिएको, थप प्रशिक्षक ल्याउन कठिनाइ भएको तथा आगामी दिनमा यस्ता तालिमलाई नियमित र प्रविधिमैत्री बनाउँदै निरन्तर सञ्चालन गर्नुपर्ने सुझावसमेत उल्लेख गरिएको छ।