वेदराज पौडेल

विराटनगर– गएको हिउँद महिनामा इटहरी उपमहा नगरपालिकाको तरहरामा रहेको पोखरीमा मण्डारीन हाँस फेला पर्‍यो । यो प्राय जापान क्यानडा लगायतका देशहरुमा मात्रै देखिने हाँस प्रजातीको चरा हो । नेपालमा सितिमिति नदेखिने मण्डारीन तरहरा कृर्षि फार्मको माछा पोखरीमा देखिएपछि यसको दृष्य खिच्न फोटो पत्रकारहरु यात्रा थुलुङ, नविन गड्तौला लगायतका वाइल्ड लाइफ पत्रकार र फोटो पत्रकारहरुको भिड लाग्यो । कहिल्यै नदेखिने संकटापन्न अर्थात जोखिम पूर्ण अवस्थामा रहेका चराहरु कोशीटप्पु लगायतका जलाशयमा आउदा संरक्षणको क्षेत्रमा लागेकाहरुलाई उत्साह थपिनु स्वाभाविक नै हो ।  

नेपालमा नै पहिलो पटक देखिने चरा, कोशीटप्पुमा पहिलो पटक आउने पाहुना चरा, त्यसैगरि कोशीटप्पु र आशपासका जलाशयबाट धेरै बर्ष पहिले हराएर फेरि फर्कीएका चराहरुको रेकर्ड राख्दा निकै आनन्दको अनुभूति हुने चरा संरक्षणको क्षेत्रमा दुई दशक भन्दा बढी समय देखी लाग्दै आएको कोशी गाउँपालिकाका चरा जानकार अनिश तिम्सिना बताउछन । 

उनका अनुसार कोशीटप्पुबाट २२ बर्ष पहिले हराएको राज गरुड ग्रेटर एजुटेन्ट कोशीटप्पु मै सन् २०१७ डिसेम्बरमा  देखियो । यो १९९५ मा कोशीटप्पु आशपासको क्षेत्रमा रेकर्ड भएको थियो त्यस पछि एकाएक हराएर गएको थियो ।  त्यसैगरि  हराएको २० बर्षपछि कम्ब डक सुनसरीको बर्जु तालमा देखियो । त्यो हासलाई १०१८ मा फोटो पत्रकार विशप ताम्राकार र यात्रा थुलुङले क्यामेरामा रेकर्ड गर्न भ्याए ।

त्यस्तै २०२२ मा कोशीटप्पुमा ठुलो सिलसिले हाँस देखियो । यो पनि पहिलो पटक नै कोशीटप्पुमा रेकर्ड भएको थियो । त्यसैगरि गत बर्ष रेडनेक फ्‌लारप फेला पर्‍यो । संरक्षण कर्मी तथा चरा अवलोकनकर्ता अनिस तिम्सिनाका अनुसार समुन्द्रमा पाइने सर्ट टेलर सेयरवाटर नेपालमै पहिलो पटक कोशीटप्पुको कोशी नदिमा रेकर्ड भयो । त्यसको तस्बिर र भिडीओ अनिसले खिच्न पाए । उनी कोशी पंक्षि समाजका पूर्व अध्यक्ष समेत हुन । 

उनका अनुसार अहिले नेपालमा ९०३ प्रजातिका चरा छन भने कोशीटप्पु बन्यजन्तु आरक्षमा मात्रै ५३८ किसिमका चराहरु पाइन्छन । कोशीटप्पुलाई चराहरुको स्वर्ग पनि भनिन्छ । तर पछिल्लो समय चराहरुको वासस्थान मासिदै जानु । खेतिपातीमा विषादीको बढ्दो प्रयोग र सिमसार घट्दै जाँदा चराहरुको वासस्थान जोखिममा पर्दै गएको छ । यसको संरक्षण हुन सकेमा कोशीटप्पुमा धेरै पाहुना चराहरु आउने अवस्था रहने कोशी पंक्षी समाजका अध्यक्ष चक्र तिम्सिनाले बताए । 

दशकौंपछि फर्किएका पाहुनाहरू

कोशीटप्पु वन्यजन्तु आरक्षमा पछिल्ला वर्षहरूमा दुर्लभ चराका धेरै प्रजातिहरू पुनः देखा परेका छन्। तीमध्ये केही यस्ता छन् जुन दशकौंसम्म कतै देखिएका थिएनन्।

राज गरुड (Greater Adjutant) — कोशीटप्पुबाट २२ वर्षपहिले हराएको राज गरुड सन् २०१७ मा कोशीटप्पुमै पुनः देखियो। यो विश्वकै सबैभन्दा भारी स्टोर्क प्रजाति हो, जसको उचाइ १२० देखि १५२ सेन्टिमिटर र पखेटा फैलाउँदा करिब २५० सेन्टिमिटर हुन्छ। यो अत्यन्तै संकटापन्न प्रजाति हो र नेपालमा अन्तिम पटक सन् १९९५ मा देखिएको थियो। कोशी पंक्षी समाजका पूर्व अध्यक्ष अनिस तिम्सिनाका अनुसार सन् २०१७ मा गिद्धको बथानसँगै कोशीटप्पुको पश्चिमी भागमा यो चरा देखिएको थियो ।

सिलसिले हाँस (Baikal Tea)– सन् २०२२ मा कोशीटप्पुमा करिब २२ वर्षपछि सिलसिले हाँस पुनः अभिलेख गरियो। यो प्रजाति सन् २००० पछि पहिलोपटक देखिएको थियो। हिउँदयाममा आउने प्रवासी चराको रूपमा चिनिने यो प्रजाति अक्टोबरदेखि नेपाल आउँछ र मार्चको मध्यतिर फर्किन्छ।  

कम्ब डक (Comb Duck)–२० वर्ष हराएपछि सुनसरीको बर्जु तालमा कम्ब डक देखियो। सन् २०१८ मा फोटो पत्रकार विशप ताम्राकार र यात्रा थुलुङले यसलाई क्यामेरामा कैद गर्न सफल भए ।

ठुलो सिलसिले हाँस (great Baikal Teal) –सन् २०२२ मा कोशीटप्पुमा ठुलो सिलसिले हाँस पहिलो पटक रेकर्ड भयो।

रेडनेक फ्लारप (Red–necked Phalarope)–गत वर्ष रेडनेक फ्लारप कोशीटप्पुमा फेला पर्यो।

शार्ट टेलर सेयरवाटर (Short–tailed Shearwater)–समुन्द्रमा पाइने यो चरा नेपालमै पहिलो पटक कोशीटप्पुको कोशी नदीमा रेकर्ड भयो। संरक्षणकर्मी अनिस तिम्सिनाले यसको तस्बिर र भिडियो खिच्न पाए ।

कोशी पंक्षी समाजका पूर्व अध्यक्ष अनिस तिम्सिना भन्छन् — “नेपालमा नै पहिलो पटक देखिने चरा, कोशीटप्पुमा पहिलो पटक आउने पाहुना चरा, त्यसैगरी कोशीटप्पु र आसपासका जलाशयबाट धेरै वर्ष पहिले हराएर फेरि फर्किएका चराहरूको रेकर्ड राख्दा निकै आनन्दको अनुभूति हुन्छ।”

चराको राजधानी : कोशीटप्पु

कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालकै सबैभन्दा महत्वपूर्ण पक्षी बासस्थानमध्ये एक हो। सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा फैलिएको यो क्षेत्रलाई धेरै पक्षीविद्हरूले नेपालको “बर्ड क्यापिटल” अर्थात् चराको राजधानी भन्ने गरेका छन् ।

तथ्यांकहरूले यसको महत्वलाई थप पुष्टि गर्छन्। नेपालमा हाल ९०३ प्रजातिका चरा पाइन्छन् भने कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५३८ किसिमका चराहरूको अभिलेख छ। राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार कोशी नदी, नन्दन ताल, कमलदह, भारतीय क्याम्प क्षेत्र तथा आरक्षभित्रका सिमसार क्षेत्र जलचर चराका लागि अत्यन्त महत्वपूर्ण बासस्थान हुन् ।

सन् १९८७ देखि नै यहाँ चराहरूको नियमित गणना हुँदै आएको छ, जसले विश्वव्यापी पक्षी संरक्षण अध्ययनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

पछिल्लो तथ्यांक : उत्साहजनक सुधार

‘मिडविन्टर वाटर बर्ड सेन्सस २०२५’ अन्तर्गत गरिएको गणनाले कोशीटप्पुमा चराको संख्या र प्रजाति दुवैमा उल्लेखनीय वृद्धि भएको देखाएको छ ।

आरक्ष र आसपासका क्षेत्रमा गत पुस २६ देखि माघ १ गतेसम्म गरिएको गणनामा ७६ प्रजातिका ९ हजार २ सय ५० चरा फेला परेका छन् । गत वर्ष ५३ प्रजातिका मात्र ५ हजार ५ सय २७ चरा फेला परेका थिए। यस वर्ष ३ हजार ७ सय २३ चरा थपिएका छन्। गणनाका क्रममा यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा १ हजार ६८ वटा फेला परेका छन् ।

त्यस्तै, कोशीटप्पुमा दुर्लभ प्रजातिका सेतोकण्ठे गरुड, पानीचाहा, चित्राङ्गद र फुस्रो टिकटिके पनि पहिलो पटक देखा परेका छन् । कोशी पंक्षी समाजका अध्यक्ष चक्र तिम्सिनाका अनुसार सुरक्षित बासस्थान, पर्याप्त आहाराको उपलब्धता र संरक्षणका गतिविधिले चराको संख्या बढेको हो। उनले भने — “कोशीटप्पुमा चराको बढ्दो संख्याले संरक्षणका प्रयास सफल भएको देखाएको छ, तर दीर्घकालीन रूपमा यसलाई कायम राख्न जनसहभागिता, अनुसन्धान र सरकारी नीतिगत जरुरी छ।”

किन हराउँदै गएका थिए चराहरू ?

विशेषज्ञहरूका अनुसार चराहरू एकै कारणले हराएका होइनन्। धेरै कारणले संयुक्त रूपमा असर गरेको थियो । सिमसार क्षेत्रको विनाश — सबैभन्दा ठूलो कारण बासस्थानको क्षय हो । पछिल्ला दुई दशकमा नेपालका धेरै सिमसार क्षेत्र अतिक्रमण, सडक निर्माण, नदीजन्य पदार्थ उत्खनन, कृषि विस्तार र सहरीकरणका कारण साना हुँदै गए । पानीमा आधारित चराहरू सिमसारको अभावले गर्दा बासस्थानबाट वञ्चित हुँदै गएका छन् । कोशीटप्पु क्षेत्रमा जलकुम्भी र ‘माइकानिया’ जस्ता वनस्पतिहरूले सिमसार क्षेत्रलाई पूर्ण रूपमा ढाकिसकेका छन्, जसले बतख प्रजातिका चराहरूलाई असर गरेको छ ।

विषादीको बढ्दो प्रयोग — कृषिमा अत्यधिक रासायनिक मल तथा विषादीको प्रयोगले पनि चरालाई प्रत्यक्ष र अप्रत्यक्ष दुवै असर पुर्यायो। धानखेत र जलाशयमा मिसिने विषादीले साना माछा, कीरा तथा जलचर जीवहरू घटाए। ती नै चराहरूको मुख्य आहार भएकाले खाद्य शृंखलामा असर पर्न गयो।

अवैध सिकार — संरक्षणकर्मीहरूका अनुसार विगतमा प्रवासी चराको अवैध सिकार ठूलो समस्या थियो। जाडो मौसममा आउने बतख, हाँस तथा अन्य जलचर प्रजाति स्थानीय शिकारीहरूको निशानामा पर्थे। यद्यपि पछिल्ला वर्षहरूमा निगरानी बढेसँगै यस्तो गतिविधि घटेको बताइन्छ।

मानव गतिविधिको दबाब — अत्यधिक माछा मार्ने, नदीमा डुङ्गाको चाप बढ्ने, चरन क्षेत्र विस्तार हुने तथा मानिसको आवागमन बढ्ने जस्ता गतिविधिले चराको प्राकृतिक व्यवहारमा असर पुर्यायो।

जलवायु परिवर्तन — जलवायु परिवर्तनले पनि प्रवासी चराको यात्रा मार्ग र बासस्थानमा असर गरिरहेको पक्षीविद्हरू बताउँछन्। तापक्रम वृद्धि, वर्षा चक्रमा परिवर्तन तथा पानीको उपलब्धतामा उतारचढावले चराहरू वैकल्पिक बासस्थान खोज्न बाध्य भएका थिए।

चुनौती र भविष्य

चराहरूको संख्या बढ्न थाले पनि कोशीटप्पुका आकाशमा पुनः गुञ्जिन थालेका पखेटाहरूको दीर्घकालीन संरक्षणका लागि अझै धेरै काम गर्न बाँकी छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार सुरक्षित बासस्थान, पर्याप्त आहारा, सिमसारको संरक्षण र मानव चहलपहल कम गर्न सके सिमसार खोलानालामा आगन्तुक चराको संख्या बढ्न सक्छ। उनले असोजदेखि पुससम्म अन्यत्रबाट पर्यटक चरा आउने क्रम जारी रहने र चैत लागेसँगै फर्कने बताए । तर, चुनौतीहरू अझै धेरै छन्। चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराको बासस्थान जोखिममा पर्दै गएको छ। कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा चराको संख्या उतारचढावपूर्ण रहेको तथ्यांकले देखाउँछ — सन् २०२३ मा ५८ प्रजातिका १३ हजार ६ सय ६८ चरा रेकर्ड भएकोमा सन् २०२४ मा घटेर ५३ प्रजातिका मात्र ५ हजार ५ सय २७ पुगेको थियो ।

पंक्षी अवलोकनकर्ता तथा फोटो पत्रकार देवेन खरेलका अनुसार कोशीटप्पु जैविक विविधताको प्रतीक मात्रै होइन, अन्तर्राष्ट्रिय पक्षी अवलोकन केन्द्रको रूपमा विकसित हुने सम्भावना बोकेको क्षेत्र हो। “यदि स्थानीय जनताको संरक्षणमा सहभागिता र वैज्ञानिक अध्ययनको निरन्तरता कायम राखियो भने यो सम्भावना एक दिन वास्तविकतामा परिणत हुन सक्छ,” उनले भने ।

कोशीटप्पुको संरक्षणको वर्तमान अवस्थालाई निरन्तरता दिन सके यसलाई अन्तर्राष्ट्रियस्तरमा ‘बर्ड सेन्चुरी’ को रूपमा विकास गर्न सकिने पंक्षी विज्ञहरूले बताएका छन् । उनीहरूले यस क्षेत्रलाई प्रदूषण, मानवीय दखल र जलवायु परिवर्तनबाट जोगाउन अपिल गरेका छन् । 

तस्बिर : यात्रा थुलुङ/अनिश तिम्सिना