विराटनगर–नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले आफ्नो स्थापना दिवस विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गर्दै मनाएको छ। स्थापनादिवसका अवसरमा वृक्षारोपण तथा बगैंचा संरक्षण, फरक क्षमता भएका बालकलाई ह्विलचेयर हस्तान्तरण तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।


परिसंघले विगत वर्षदेखि संरक्षण गर्दै आएको विराटनगर–धरान सडकअन्तर्गत बरगाछीको पहिलो डिभाइडरमा रहेको बगैंचामा सरसफाइ, गोडमेल, तारबार मर्मत, सूचना बोर्ड रंगरोगन तथा नयाँ धुपीका बिरुवा रोपेर हरियाली प्रवर्द्धन गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ। कार्यक्रममा परिसंघका पदाधिकारी तथा सदस्यहरूले वृक्षारोपणमा सक्रिय सहभागिता जनाएका थिए।

cni pic 2

यस्तै, स्थापनादिवसकै अवसरमा मोरङको कटहरी गाउँपालिका–१ जम्टोल निवासी सात वर्षीय फरक क्षमता भएका बालक सुवान चौधरीलाई आधुनिक ह्विलचेयर प्रदान गरिएको छ। आर्थिक अभावका कारण आवश्यक ह्विलचेयरको व्यवस्था गर्न नसकिरहेको र विद्यालय आवतजावतमा कठिनाइ भोग्दै आएको जानकारी पाएपछि परिसंघले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।


ह्विलचेयर परिसंघका अध्यक्ष पवनकुमार सारडा, संस्थापक अध्यक्ष तथा वर्तमान केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, कार्यक्रम संयोजक दीपक पौडेललगायत पदाधिकारीले बालकका अभिभावकलाई हस्तान्तरण गरेका थिए।

cni pic 3

ह्विलचेयर प्राप्त गरेपछि बालककी आमाले सहयोगप्रति आभार व्यक्त गर्दै यसबाट छोरालाई विद्यालय पठाउन र दैनिक जीवन सहज बनाउन ठूलो राहत पुगेको बताइन्। उनले यस सहयोगले बालकको आत्मविश्वास र मनोबलसमेत बढ्ने विश्वास व्यक्त गरिन्।


यसैगरी, नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा परिसंघ परिसरमा आयोजित रक्तदान कार्यक्रममा परिसंघका पदाधिकारी, सदस्य, उद्योग प्रतिष्ठानका कर्मचारी तथा शुभेच्छुकहरूको सहभागितामा २८ पिन्ट रगत संकलन गरिएको थियो। संकलित रगत रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको परिसंघले जनाएको छ।

cni pic 4

तीनवटै कार्यक्रम सम्पन्न भएपछि आयोजित औपचारिक समारोह परिसंघका अध्यक्ष पवनकुमार सारडाको अध्यक्षतामा तथा संस्थापक अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष भीम घिमिरेको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा परिसंघका पदाधिकारी, महिला समितिका प्रतिनिधि, युवा समितिका सभापति सुशन प्रधान, उद्यमी–व्यवसायी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा बोल्दै अध्यक्ष सारडाले उद्योगी–व्यवसायी केवल आर्थिक गतिविधिमा सीमित नभई सामाजिक उत्तरदायित्व निर्वाहमा पनि अग्रसर रहनुपर्ने बताए। उनले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा परिसंघले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।