विराटनगर — नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता मोरङ उद्योग व्यापार संघको सभाहलमा सम्पन्न भएको छ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रीति देवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन तथा प्रश्नोत्तर सत्रको सहजीकरण क्विज मास्टर मनोज तिवारीले गरेका थिए। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले बीमा क्षेत्रसँग सम्बन्धित विविध विषयमा आफ्नो ज्ञान, क्षमता र प्रस्तुति कौशल प्रदर्शन गरेका थिए।
प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न प्रतियोगितामा मेरिल्याण्ड माध्यमिक विद्यालयका हर्ष सिंह, सुरज पासवान र सम्भव भट्टराई सम्मिलित टोली प्रथम हुन सफल भयो। त्यसैगरी शिक्षादीप बोर्डिङ स्कुलका केशव झा, विशेष पौडेल र अलिसा सापकोटा सम्मिलित टोली द्वितीय तथा श्री पोखरिया माध्यमिक विद्यालयका कृष खतिवडा, अनुकुल आचार्य र प्रज्वल आचार्य सम्मिलित टोली तृतीय स्थान हासिल गर्न सफल भए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रीति देवले बीमाप्रतिको जनचेतना विस्तार गर्न विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताइन्। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा बीमाको महत्वबारे ज्ञान अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिन्। साथै, आगामी दिनमा पनि विद्यालयस्तरमा बीमासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन्।
प्रतियोगिताका विजेताहरूलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। प्रथम हुने टोलीलाई नगद २० हजार रुपैयाँ, द्वितीय हुने टोलीलाई १५ हजार रुपैयाँ र तृतीय हुने टोलीलाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। सहभागी सबै विद्यालयलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो।
बीमा सम्बन्धी ज्ञान, जनचेतना तथा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा कोशी प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा श्री पोखरिया माध्यमिक विद्यालय, विराट क्याम्पस विराटनगर, शिक्षादीप बोर्डिङ स्कुल, सिटी माध्यमिक विद्यालय, मेरिल्याण्ड माध्यमिक विद्यालय तथा सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयका गरी ६ वटा टोली सहभागी भएका थिए।
आयोजकले बीमा शिक्षालाई विद्यालयस्तरमै विस्तार गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।

