विराटनगर–राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडिपी) को प्रारम्भिक अनुमानअनुसार आगामी आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशको अर्थतन्त्रको आकार १० खर्ब ४३ अर्ब रुपैयाँ पुग्ने भएको छ। यो चालु आर्थिक वर्षको संशोधित अनुमान ९ खर्ब ८२ अर्ब रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। योसँगै राष्ट्रिय अर्थतन्त्रमा कोशी प्रदेशको योगदान १५.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जसले यस प्रदेशलाई बागमती प्रदेशपछिको दोस्रो ठूलो प्रादेशिक अर्थतन्त्रका रूपमा स्थापित गरेको छ।


तथ्याङ्क कार्यालयका अनुसार स्थिर मूल्यमा आधारित कोशी प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ३.१३ प्रतिशत रहने प्रारम्भिक अनुमान छ, जुन अघिल्लो वर्षको २.७२ प्रतिशतको तुलनामा केही सुधारोन्मुख देखिएको छ। कुल ६६ खर्ब रुपैयाँको राष्ट्रिय अर्थतन्त्रमा कोशीको यो हिस्साले समग्र राष्ट्रिय आर्थिक परिदृश्यमा बलियो प्रभाव पार्ने संकेत गर्दछ।


कृषि क्षेत्रकै वर्चस्व, ऊर्जा क्षेत्रमा उत्साहजनक वृद्धि

कोशी प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा अझै पनि कृषि क्षेत्र नै कायम रहेको तथ्याङ्कले देखाउँछ। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको जीडीपीमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा बढी ३२.५ प्रतिशत रहनेछ। कृषि क्षेत्रपछि थोक तथा खुद्रा व्यापार क्षेत्र अर्थतन्त्रको दोस्रो ठूलो योगदानकर्ताका रूपमा उभिएको छ।

growth_rate

औद्योगिक गतिविधिअनुसार प्रदेशमा सबैभन्दा उत्साहजनक वृद्धि विद्युत तथा ग्याँस क्षेत्रमा देखिएको छ। जलविद्युत आयोजनाहरूको विकाससँगै यस क्षेत्रको वार्षिक वृद्धिदर २३.७६ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान छ। यसको विपरीत प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको योगदान सबैभन्दा न्यून (०.३ प्रतिशत) रहनेछ भने पानी आपूर्ति, ढल तथा फोहोर व्यवस्थापन क्षेत्रको वृद्धिदर पनि सुस्त अर्थात् ०.३९ प्रतिशत मात्रै रहने अनुमान छ।


राष्ट्रिय औसतभन्दा प्रतिव्यक्ति आय कमजोर

अर्थतन्त्रको आकार र वृद्धिदरमा सुधार देखिए पनि प्रतिव्यक्ति आयका हिसाबले भने कोशी प्रदेश राष्ट्रिय औसतभन्दा पछि नै परेको छ। आगामी आर्थिक वर्षमा कोशी प्रदेशका नागरिकको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ४१० अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। यो आकार राष्ट्रिय औसत प्रतिव्यक्ति आय १ हजार ५१३ अमेरिकी डलरको तुलनामा १०३ डलरले कम हो।

per_capital

राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ देखि ८ महिनासम्मका आर्थिक गतिविधिका आधारमा यो प्रारम्भिक प्रक्षेपण तयार पारेको जनाएको छ। आगामी दिनमा थप क्षेत्रगत तथ्याङ्कहरू प्राप्त भएपछि यो अनुमान परिमार्जन हुन सक्ने कार्यालयको भनाइ छ।